दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले 'छ माया छपक्कै' शृंखलालाई निरन्तरता दिने भएको छ।
'छक्का पञ्जा ५' पछि 'छ माया छपक्कै २' निर्माण गरेको यो समूहले यसको तेस्रो भागसमेत ल्याउने घोषणा गरेको हो। प्रदर्शनरत दोस्रो भागको अन्त्यमा तेस्रो भाग 'छ माया छपक्कै ३' को घोषणा गरिएको छ। साथै, प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ।
घोषणाअनुसार फिल्म २०८४ सालको दसैंमा प्रदर्शनमा आउनेछ।
'छ माया छपक्कै २' दसैंको अवसर पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको हो। यद्यपि, दोस्रो भागले व्यावसायिक रूपमा भने अपेक्षित सफलता हासिल गर्न सकेको देखिँदैन।
चलचित्र विकास बोर्डको कात्तिक १५ गतेसम्मको बक्स अफिस विवरणअनुसार फिल्मले ३ करोड ३४ लाख ८४ हजार ४३५ रूपैयाँ ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मका १ लाख ३ हजार ९७९ वटा टिकट बिक्री भएका छन्।
दीपकराज गिरीले पनि यसको व्यावसायिक प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको स्वीकार गरेका छन्। एक अन्तर्वार्तामा उनले फिल्मले जति सफलता पाउनुपर्ने थियो, त्यति पाउन नसकेको भन्दै त्यसको जिम्मेवारी आफूले लिने बताएका थिए।
'जिम्मेवार व्यक्ति ९८ प्रतिशत म हो,' उनले भनेका थिए।
दीपकराजले 'छ माया छपक्कै २'को कथालाई टुंग्याउन बाँकी रहेको र त्यसको थप कथा लेखिसकेको समेत बताएका थिए।
२०७६ सालमा प्रदर्शनमा आएको 'छ माया छपक्कै' ले घरेलु बक्स अफिसमा करिब १० करोड रूपैयाँ ग्रस कमाइ गरेको थियो।
दीपेन्द्र लामा निर्देशित 'छ माया छपक्कै २' अहिले तेस्रो सातामा प्रदर्शनरत छ। फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य, रिहान गिरी, प्रकाश घिमिरे, रमा थपलियालगायत कलाकारहरू छन्।
फिल्मको निर्माता रोहित अधिकारी हुन्।