काठमाडौं महानगरपालिकाले पहिलोपटक आयोजना गरेको 'काठमाडौं फिल्म फेस्टिभल' शनिबार बौद्धस्थित तारागाउँ नेक्स्टको एम्फिथिएटरमा समापन भएको छ।
कार्तिक १३ गते वसन्तपुरबाट सम्पदा यात्रासहित सुरू भएको तीनदिने फेस्टिभलमा पुराना नेपाली चलचित्र 'के घर के डेरा' र 'कुमारी' सहित सर्ट भिडिओ, नेपाली पानोरामा र अन्तर्राष्ट्रिय पानोरामाका ४० चलचित्र प्रदर्शन गरिएको थियो।
समापन समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंले युनेस्कोको रचनात्मक सहर सञ्जालमा आबद्ध हुँदा चार वर्षभित्र फिल्म फेस्टिभल आयोजना गर्ने गरेको प्रतिबद्धता पूरा गरेको बताइन्। उनले पहिलो संस्करणबाट प्राप्त सिकाइ र सुझावलाई समेट्दै आगामी संस्करणलाई थप परिष्कृत र व्यवस्थित बनाउने बताइन्।
वरिष्ठ कलाकार नीर शाहले महानगरपालिकाले सुरू गरेको यो पहललाई महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै यसको अनुभव अभिलेखन र पुस्तान्तरण गर्नुपर्ने बताए। अभिनेता राजेश हमालले चलचित्रलाई समाजका कथा सुनाउने सशक्त माध्यम भन्दै महानगरको पहलले नेपाली चलचित्र उद्योगको विकासमा योगदान पुर्याउने धारणा राखे।
त्यस्तै, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलरले नेपालमा चलचित्र उद्योगको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै फेस्टिभलले नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रलाई पनि लाभ पुर्याउन सक्ने बताए।