अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म '२६ करोड'को छायांकन पोलिस सिनेम्याटोग्राफर आर्टुर जुराव्स्कीले गर्ने भएका छन्।
एसिया र युरोपका विभिन्न फिल्म उद्योगमा काम गरिसकेका अनुभवी छायांकार आर्टुर फिल्मको छायांकनका लागि नेपाल आइपुगेका छन्।
शनिबार नेपाल आइपुगेका आर्टुरले आइतबारदेखि फिल्मको वर्कसपसमेत सुरू गरेका छन्। विकास सुवेदीको निर्देशनमा बन्न लागेको फिल्मको अहिले वर्कसप भइरहेको छ। आगामी मंसिर १५ गतेदेखि छायांकन सुरू हुने निर्माता सुभाष भुषालले जानकारी दिए।
पोल्याण्डका आर्टुरले पोल्याण्ड, भारत, अमेरिका, स्विट्जरल्याण्ड र दक्षिण कोरियाली फिल्म उद्योगमा काम गरिसकेका छन्। यसअघि उनले विकास सुवेदी निर्देशित नेपाली फिल्म 'सिरजरा'मा पनि छायांकन गरेका थिए। '२६ करोड' उनीहरूको दोस्रो सहकार्य हो।
आर्टुरले बलिउडका सलमान खान अभिनीत 'सुल्तान', रानी मुखर्जी अभिनीत 'मर्दानी' र सञ्जय दत्त अभिनीत 'भूमि' लगायतका फिल्म छायांकन गरेका छन्। यी फिल्मले भारतसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा कमाएका थिए।
पोलिस नेसनल फिल्म स्कूलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका आर्टुरले छायांकन गरेका फिल्मले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। उनी बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेम्याटोग्राफी मेन्टरका रूपमा समेत आबद्ध भइसकेका छन्।
भारतीय फिल्मबाहेक उनले अमेरिकी फिल्म 'हेड टु लभ', दक्षिण कोरिया र पोल्याण्डको संयुक्त निर्माण 'व्हेयर वुड यू लाइक टु गो' तथा 'लोकाटोर्का' र 'इज् पोद प्रोंद' लगायतका फिल्ममा पनि काम गरेका छन्।
आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने तयारी गरिएको '२६ करोड'मा प्रदीप खड्का र साहारा आरएल शाह मुख्य भूमिकामा रहनेछन्। साहारालाई भारतीय अभिनेता विवेक ओबेरोयले लामो समयदेखि अभिभावकत्व प्रदान गर्दै आएका छन्।
किंगडम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मको लेखन पनि निर्देशक सुवेदीकै रहनेछ। फिल्ममा उत्तम न्यौपानेको साउन्ड डिजाइन, निर्माता भुषालको संगीत, हर्क साउदको शब्द तथा मनोज जोशीको निर्माण नियन्त्रण रहनेछ।
गत असोजको पहिलो साता मुम्बईस्थित ताज ल्याण्ड्स इन्ड होटलमा फिल्मको घोषणा गरिएको थियो। घोषणा कार्यक्रममा बलिउड अभिनेता विवेक ओबेरोयसमेत उपस्थित थिए।