नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार, निर्देशक तथा निर्माताको जमघटबीच फिल्म 'ककाकिकी'को प्रिमियर शो आयोजना गरिएको छ।
मंगलबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा सेलिब्रेटीहरूको उल्लेख्य उपस्थिति रह्यो। प्रिमियरमा फिल्म हेरेपछि सहभागीहरूले यसको कथावस्तु, प्रस्तुतीकरण र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरे। विशेषगरी निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले पर्दामा उतारेको फरक शैली र त्यसका लागि गरेको मेहनतको तारिफ भएको थियो।
कमेडी जनरामा निर्माण भएको फिल्मका विभिन्न दृश्यले हलमा हाँसोको फोहोरा छुटाएका थिए। फिल्मका रमाइला प्रसंगमा उपस्थित फिल्मकर्मीसमेत खुलेर हाँसेका थिए। प्रिमियरमा सहभागी फिल्मकर्मीले ‘ककाकिकी’ ले आम दर्शकको पनि मन जित्ने विश्वास व्यक्त गरे।
प्रिमियरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, निर्देशक तथा निर्माता मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत, विल्सन विक्रम राई तथा गायक शिव परियार, अर्जुन सापकोटा, एलिना चौहानलगायतको उपस्थिति थियो। उनीहरूले फिल्मप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।
निर्देशक बिक्की अग्रवालले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको बताए। फिल्म निर्माणका क्रममा आफ्नो टिमले निकै मेहनत गरेको उल्लेख गर्दै उनले अब दर्शकमाझ फिल्म पुग्ने समय आएको बताए। फिल्मलाई दर्शकले दिने प्रतिक्रियालाई आफूहरूले सहर्ष स्वीकार गर्ने उनको भनाइ थियो।
त्यस्तै, फिल्मका कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीलगायतले पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले खुसी बनाएको बताए। फिल्मकर्मीबाट पाएको प्रतिक्रियाले उत्साह थपेको उल्लेख गर्दै उनीहरूले अब दर्शकको प्रतिक्रियाको प्रतीक्षा रहेको बताए।
के छ फिल्मको कथा ?
वर्षौंदेखि उपेक्षामा परेको गाउँ र आफ्ना प्रियजनलाई जोगाउन चार भिन्न स्वभावका पात्र अनिच्छापूर्वक एकजुट हुन्छन्। उनीहरूको यही अप्रत्याशित सहकार्यले निम्त्याउने उथलपुथल, अन्योल र रमाइला घटनाक्रम नै फिल्मको मुख्य आकर्षण हो।
अनेक चुनौतीको सामना गर्दै अघि बढ्ने क्रममा उनीहरूले मित्रता, क्षमा र एकअर्काप्रतिको करूणाको महत्वसमेत बुझ्दै जान्छन्।
को–को छन् फिल्ममा?
फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरूङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।
फिल्मको निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। कन्सेप्ट सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
फिल्मको छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्। मेकअपमा अनिश तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरूण रेग्मी छन्।
फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) सर्टिफिकेट प्राप्त गरेको छ। यससँगै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने छन्।


