सामाजिक हास्य फिल्म 'पच्चीस पच्चीस'को शुभ मुहूर्त गरिएको छ।
कर्ण इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै शुभ मुहूर्त गरिएको हो। मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरू भएको छ। निर्देशक सुब्रत आचार्यका अनुसार फिल्मको छायांकन ४० दिनमा सक्ने लक्ष्य राखिएको छ।
फिल्ममा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरूष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ। दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा (भक्ते भाइ)ले ‘पच्चीस पच्चीस’बाट फिल्ममा डेब्यु गर्दैछन्।
सुब्रत आचार्यको निर्देशन रहने 'पच्चीस पच्चीस' उनको तेस्रो निर्देशकीय फिल्म हुनेछ। यसअघि उनले 'अधकट्टी' र 'सुश्री सम्पत्ति' निर्देशन गरेका थिए।
फिल्मको कथा सुब्रत आचार्य र जयाले लेखेका हुन् भने पटकथा सुशील देवकोटाको छ। फिल्मको छायांकन निर्देशन हरि हुमागाईंले गर्नेछन्।
कर्ण कार्कीको निर्माण रहने यो फिल्म उनको दोस्रो निर्माण हो। यसअघि उनले 'होस्टल ३' निर्माण गरेका थिए।
'पच्चीस पच्चीस'का कार्यकारी निर्माता दिपेन्द्र गौतम हुन्। त्यस्तै, धिरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माताका रूपमा छन्। फिल्मको लाइन प्रोडक्सनको जिम्मेवारी सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले सम्हाल्नेछन्।