सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ, अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म 'बोर्डर २' ले बक्स अफिसमा ठूलो कमाइ गरेको छ।
यो बलिउड वार–ड्रामाले रिलिजको चौथो दिनसम्म विश्वव्यापी बक्स अफिसमा २ सय ५० करोड भारूको आँकडा पार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
फिल्मले सोमबार भारतको गणतन्त्र दिवसको दिन भारतमा मात्र ५९ करोड भारू नेट कमाइ गरेको छ। चार दिनमा भारतमा नेट आम्दानी १ सय ८० करोड भारू र ग्रस आम्दानी २ सय १२ करोड भारू पुगेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
विदेशी बजारमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ। चार दिनमा फिल्मको विश्वव्यापी कमाइ २ सय ५१ करोड भारू पुगेको छ।
यो फिल्मले केही ठूला फिल्महरूको लाइफटाइम कमाइलाई पछि पारेको छ। सोमबार यसले सलमान खानको 'सिकन्दर' (१८४ करोड भारू) र अजय देवगनको 'रेड २' (२४३ करोड भारू) जस्ता ठूला फिल्महरूको जीवनभरको कलेक्सनलाई पार गरेको हो।
अनुराग सिंह निर्देशित 'बोर्डर २' भारत-पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित छ। भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता यसको निर्माता हुन्।
'बोर्डर २' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ। नेपालको बक्स अफिस कमाइ भने आगामी सोमबार सार्वजनिक हुनेछ।