भारतीय अभिनेता राम चरण र अभिनेत्री जाहन्वी कपूर अभिनीत स्पोर्टस् ड्रामा 'पेड्डी' ले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको छ।
प्रदर्शनको तेस्रो दिनसम्म फिल्मको विश्वव्यापी कमाइ १९१ करोड भारू पुगेको हो।
भारतीय संचारमाध्यमका अनुसार बुची बाबु साना निर्देशित 'पेड्डी' ले पेड प्रिभ्यूबाट १८.५० करोड भारू कमाएको थियो। त्यसपछि रिलिजको पहिलो दिन बिहीबार भारतभर ५१ करोड, शुक्रबार २६ करोड र शनिबार २८.८५ करोड नेट कमाइ गरेको थियो। यससँगै फिल्मको भारतभित्रको कुल कमाइ १२५.२५ करोड भारू नेट (करिब १५० करोड ग्रस) पुगेको छ।
'पेड्डी' ले राम चरणको एकल अभिनेताका रूपमा ठूलो ओपनिङ गर्ने फिल्मको रेकर्ड समेत कायम गरेको छ। यसअघि उनको सबभन्दा सफल सुरूआत एसएस राजामौली निर्देशित 'आरआरआर' ले गरेको थियो, जसमा जुनियर एनटीआर पनि अभिनेता छन्।
विश्लेषकहरूका अनुसार 'पेड्डी'ले आइतबार ३२ करोड भारूभन्दा बढी नेट कमाउन सक्ने सम्भावना छ। यस्तो भएका घरेलु बजारमा यसको कमाइ नेट १५० करोड भारू पार गर्नेछ।
यद्यपि, 'पेड्डी'ले तेलुगु भाषी क्षेत्रबाहिर अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन। हालसम्म फिल्मको करिब ९५ प्रतिशत कमाइ तेलुगु संस्करणबाट आएको छ।
विदेशी बजारमा भने फिल्मले राम्रो व्यापार गरिरहेको छ। ओभरसिजबाट मात्रै ४.५ मिलियन अमेरिकी डलर ग्रस कमाएको फिल्मको विश्वव्यापी कुल कमाइ तीन दिनमै १९१ करोड भारू पुगेको हो।
बक्स अफिस कमाइका हिसाबले 'पेड्डी'ले राम चरणको अघिल्लो फिल्म 'गेम चेन्जर' (१८६ करोड भारू) लाई उछिनिसकेको छ। साथै, हालैको तेलुगु फिल्म 'मिराइ' (१८९ करोड भारू) को कमाइलाई पनि पार गरेको छ।
'पेड्डी' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।