अभिनेत्री जाहन्वी कपूर यतिबेला फिल्म 'पेड्डी' का कारण थप चर्चामा छिन्। राम चरणको शीर्ष अभिनय रहेको फिल्ममा जाहन्वीले निर्वाह गरेको भूमिकालाई लिएर चर्चा भइरहेको छ।
फिल्ममा उनको चरित्र र त्यसको प्रस्तुतीकरणबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। यसैबीच, जाहन्वीले यो फिल्ममा महँगो पारिश्रमिक लिएको खुलेको छ।
भारतीय संचारमाध्यम बलिउड हंगामाका अनुसार जाहन्वीले 'पेड्डी'मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेबापत ८ करोड भारू पारिश्रमिक लिएकी हुन्।
यो पारिश्रमिक उनको करिअरकै सबभन्दा धेरै रहेको बताइएको छ।
रिपोर्टका अनुसार यसअघि जाहन्वीले 'देवरा' फिल्मका लागि ५ करोड भारू पारिश्रमिक लिएकी थिइन्। 'पेड्डी'का लागि भने उनको पारिश्रमिक करिब ५० प्रतिशतले बढेको बताइएको छ।
फिल्मको छायांकनका क्रममा जाहन्वीले निकै व्यावसायिक ढंगले काम गरेको पनि जनाइएको छ।
'देवरा' र 'पेड्डी' जस्ता तेलुगु फिल्ममा काम गरेपछि जाहन्वीको माग दक्षिण भारतीय फिल्म उद्योगमा बढ्दै गएको बताइएको छ। यही कारण उनलाई अहिले तेलुगु फिल्मबाट लगातार अफरहरू आइरहेको बताइन्छ।
जाहन्वी अब निर्देशक एटलीको नयाँ फिल्म 'राका'मा अल्लु अर्जुनसँग देखिनेछिन्। साथै हिन्दी फिल्म 'लग जा गले' मा टाइगर श्राफ र लक्ष्यसँग पनि अभिनय गर्दैछिन्।
'पेड्डी' ले तेलुगु भाषामा राम्रो व्यावसायिक सफलता हासिल गरिरहेको छ। यसको हिन्दी संस्करणले भने अपेक्षित चर्चा बटुल्न सकेको छैन।
'पेड्डी' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।