भारतीय अभिनेता राम चरण र अभिनेत्री जाहन्वी कपूर अभिनीत तेलुगु फिल्म 'पेड्डी' को बक्स अफिस कमाइ आठौं दिनसम्म आइपुग्दा उल्लेखनीय रूपमा घटेको छ।
ठूलो ओपनिङ गरेको फिल्मले पहिलो सातापछि गति कायम राख्न नसक्दा विश्वव्यापी ३०० करोड भारू कमाइको आँकडा अझै पूरा गर्न नसकेको हो।
फिल्मले प्रदर्शनको पहिलो दिन भारतमा ६९ करोड भारू नेट कमाइ गर्दै विश्वभरबाट १०० करोड भारूभन्दा बढी ग्रस कलेक्सन गरेको थियो।
पहिलो सप्ताहन्तसम्म भारतमा मात्र १३७ करोड भारू नेट कमाउन सफल भएको फिल्मको व्यापार त्यसपछि लगातार ओरालो लागेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।
आठौं दिन अर्थात् दोस्रो बिहीबार फिल्मले घरेलु बजारमा मात्र ६.३० करोड रूपैयाँ नेट कमाइ गरेको हिन्तुस्तान टाइम्सले उल्लेख गरेको छ।
यससँगै भारतमा फिल्मको कुल कमाइ १९३.५५ करोड भारू नेट (झण्डै २३० करोड रुपैयाँ ग्रस) पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने फिल्मको प्रदर्शन झन् कमजोर देखिएको छ। आठौं दिन विदेशबाट करिब ६ लाख अमेरिकी डलर मात्र संकलन भएको छ।
हालसम्म फिल्मले विदेशी बजारबाट ५० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ। यससँगै ‘पेड्डी’को विश्वव्यापी कुल ग्रस कलेक्सन करिब २७९ करोड भारू पुगेको छ।
प्यान–इन्डिया फिल्मका रूपमा प्रचार गरिए पनि यसको हिन्दी संस्करणले अपेक्षित सफलता हासिल गर्न सकेको छैन। एक सातापछि हिन्दी संस्करणको कमाइ नेट १५ करोड भारतीय रूपैयाँ नाघ्न संघर्षरत रहेको बताइएको छ। तेलुगु संस्करणले भने १७० भारूभन्दा बढी कमाइसकेको छ।
बलियो सुरूआत गरेपछि पछि व्यापार सुस्ताउनुको एउटा कारण अभिनेत्री जाहन्वी कपूरको पात्र चित्रणलाई लिएर उठेको विवादलाई पनि मानिएको छ। दर्शकहरूले उनलाई फिल्ममा केवल सजावटी भूमिकामा सीतिम गरिएको भन्दै आलोचना गरेका छन्। विवादपछि निर्देशक बुची बाबु सानाले आपत्तिजनक देश्यहरू सच्याउने प्रतिबद्धता जनाएका थिए।
फिल्म 'पेड्डी' राम चरण, जान्हवी कपूर, शिव राजकुमार, जगपति बाबु, दिव्येंदु शर्मालगायत कलाकारहरूको अभिनय छ।
यो फिल्म नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शनरत छ।