मोहनलाल अभिनीत मलयालम फिल्म 'दृश्यम ३' हलमा सफल प्रदर्शनपछि अब ओटिटीमा रिलिज हुने भएको छ।
मे २१ देखि सिनेमा हलमा प्रदर्शनमा आएको यो फिल्मले रिलिज भएको केही दिनमै विश्वव्यापी रूपमा २०० करोड भारूभन्दा बढी कमाइ गरेको थियो।
शनिबार गरिएको घोषणाअनुसार 'दृश्यम ३' जुन १८ (असार ४) देखि प्राइम भिडिओमा स्ट्रिमिङ हुनेछ।
फिल्म मलयालम भाषासँगै तेलुगु, तमिल र कन्नड डब संस्करणमा पनि उपलब्ध हुनेछ। यससँगै फिल्म प्रदर्शन भएको एक महिनाभित्रै डिजिटल प्लेटफर्ममा आउने भएको हो।
जीतू जोसेफको निर्देशनमा बनेको 'दृश्यम ३' भारतीय फिल्म उद्योगकै चर्चित थ्रिलर-ड्रामा शृंखलाको नयाँ अध्याय हो। फिल्ममा मोहनलाल, मीना र सिद्धिकले पुनः अभिनय गरेका छन्। यसपटक पनि कथा जर्जकुट्टी र उनको परिवार वरिपरि केन्द्रित छ।
सन् २०१३ मा आएको 'दृश्यम' र सन् २०२१ मा प्रदर्शन भएको 'दृश्यम २' भारतभर लोकप्रिय बनेका थिए। यी फिल्म थुप्रै भाषाहरूमा रिमेक बनेका छन्।