दक्षिण भारतीय अभिनेता थलापति विजयको अन्तिम फिल्म भनिएको 'जन नायकन'ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
यो राजनीतिक एक्सन फिल्मले चार दिनमा विश्वव्यापी रूपमा २ सय करोड भारूको आँकडा पार गरेको छ। भारतीय संचारमाध्यमहरूका अनुसार फिल्मले आइतबारसम्ममा २१७ करोड भारू कमाउन सफल भएको हो।
फिल्मले चार दिनमा भारतमा १२४ करोड भारू नेट (१४६ करोड भारू ग्रस) कमाइ गरेको छ।
यसैगरी, उत्तर अमेरिका र अन्य अन्तर्राष्ट्रिय बजारबाट ७५ लाख डलरभन्दा बढी आम्दानी गर्दै फिल्मले विदेशी बजारमा पनि प्रभाव जमाएको छ।
कम समयमै यस फिल्मले हालैका ठूला हिट फिल्महरूको लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ। यसले 'महाराजा' को १९० करोड, सलमान खान अभिनित 'सिकन्दर' को १७६ करोड, 'ड्रगन' को १५० करोडको लाइफटाइम कमाइलाई पछि छाडिदिएको छ।
एच. विनोथ निर्देशित 'जन नायकन' विजयको पूर्ण राजनीतिक प्रवेशअघिको अन्तिम फिल्म हो। यो फिल्म यसअघि जनवरीमा रिलिज हुने तयारी भए पनि ढिला गरी दर्शकमाझ आएको हो। विजय यतिबेला तमिलनाडुका मुख्यमन्त्री छन्।
फिल्ममा विजयसँगै पूजा हेगडे, बबी देओल, ममिता बैजू, गौतम वासुदेव मेननलगायत कलाकारहरूको प्रमुख अभिनय छ।
फिल्म अब ३०० करोड क्लबमा प्रवेश गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ।
'जन नायकन' नेपालमा भने प्रदर्शनमा आएको छैन।