दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन यतिबेला फिल्म 'राका' को छायांकनमा व्यस्त छन्। एट्ली निर्देशित फिल्ममा अल्लु अर्जुनसँगै अभिनेत्री दीपिका पादुकोण मुख्य भूमिकामा छिन्।
निर्माण पक्षले फिल्मबारे धेरै विवरणहरू सार्वजनिक गरेका छैनन्। यसैबीच यो बहुप्रतीक्षित फिल्म दुई भागमा रिलिज हुने तयारीमा रहेको चर्चा चुलिएको छ।
इन्डिया टुडेको रिपोर्टअनुसार फिल्मको कथा दुई फरक समयरेखामा आधारित हुनेछ। एउटा भाग पौराणिक-वैदिक तथा आदिवासी परिवेशमा केन्द्रित रहनेछ भने अर्को भाग आधुनिक समयको कथामा आधारित हुनेछ। रिपोर्टमा शाहरूख खानको क्यामियो भूमिका रहने सम्भावना पनि उल्लेख गरिएको छ।
त्यस्तै, आधुनिक समयको कथामा मृणाल ठाकुर मुख्य अभिनेत्रीका रूपमा देखिन सक्ने तथा ऐतिहासिक भागमा दीपिका पादुकोणसँगै जाह्नवी कपूर र रश्मिका मन्दानाको पनि भूमिका हुन सक्ने चर्चा छ। तर यी विवरणलाई फिल्म निर्माण टिमले हालसम्म आधिकारिक रूपमा पुष्टि गरेको छैन।
यो फिल्म प्यान-इन्डिया स्तरमा निर्माण भइरहेको छ।
निर्माताहरूका अनुसार 'राका' एक ठूलो बजेटको साइ-फाइ एक्शन फिल्म हुने अपेक्षा गरिएको छ, जसले भारतीय सिनेमा उद्योगमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।
रिपोर्टअनुसार फिल्मको बजेट १ हजार करोड भारूसम्म हुनसक्ने चर्चा छ। फिल्ममा व्यापक मात्रामा सीजीआई र भीएफएक्स प्रयोग हुने बताइएको छ।
यसको प्रदर्शन सन् २०२७ मा हुने अपेक्षा गरिएको छ। अहिलेसम्म आधिकारिक रूपमा भने रिलिज मिति घोषणा गरिएको छैन।