बलिउड स्टार शाहरूख खानको फिल्म 'किङ' निर्माण घोषणादेखि नै चर्चामा छ। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २४ डिसेम्बर, २०२६ मा रिलिज हुने तय छ।
यसैबीच, फिल्मको म्युजिक राइट्सलाई लिएर ठूलो डिल हुन लागेको खबर सार्वजनिक भएको छ।
बलिउड हंगामाका अनुसार 'किङ'को म्युजिक राइट्स करिब ५० करोड भारूमा बिक्री हुने अन्तिम चरणमा पुगेको छ।
फिल्ममा सचिन-जिगर संगीतकारका रूपमा आबद्ध भएपछि म्युजिक राइट्सको माग निकै बढेको बताइएको छ। सोनी म्युजिक, सारेगम र टी-सिरिजले राइट्स किन्न उच्च प्रस्ताव दिएका छन्।
तीमध्ये एक कम्पनी करिब ५० करोड भारूको अफरसहित अग्रस्थानमा रहेको स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले लेखेको छ।
रिपोर्टका अनुसार 'रामायण' र 'धुरन्धर २' पछि 'किङ' आधुनिक समयकै तेस्रो ठूलो म्युजिक डिल बन्न सक्छ। 'रामायण'का दुवै भागको म्युजिक राइट्स करिब ७५ करोड भारू भएको बताइएको छ।
तर एउटै फिल्म 'किङ'को म्युजिक राइट्स नै करिब ५० करोड भारूमा टुंगिन लागेको दाबी गरिएको छ। फिल्मको सुटिङ लगभग सकिएको छ।
करिब १५ दिनको काम मात्र बाँकी रहेको बताइएको छ। पोस्ट-प्रोडक्सन र एडिटको काम पनि तीव्र गतिमा भइरहेको जनाइएको छ। 'किङ' रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सद्वारा निर्मित फिल्म हो। यसमा शाहरूखसँगै सुहाना खान, अभिषेक बच्चन, दीपिका पादुकोण, अनिल कपूर, रानी मुखर्जीलगायत कलाकारहरूको अभिनय रहेको बताइएको छ।
प्रदर्शन क्रिसमस डेको अवसर पारेर हुने तय छ।