हलिउड फिल्म 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ले प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभरबाट ९२७ मिलियन अमेरिकी डलर कमाएको छ।
योसँगै फिल्मले इतिहासकै दोस्रो ठूलो ओपनिङ रेकर्ड बनाएको छ।
टम हल्यान्ड अभिनीत यो फिल्मले अमेरिकासहित क्यानडामा ३५५ मिलियन डलर कमाएको छ। घरेलु बक्स अफिस इतिहासमा यो दोस्रो ठूलो ओपनिङ हो। पहिलो स्थानमा सन् २०१९ को ‘एभेन्जर्सः एन्डगेम’ छ। यसले पहिलो सप्ताहन्तमा ३५७ मिलियन डलर कमाएको थियो।
अन्तर्राष्ट्रिय बजारबाट 'ब्रान्ड न्यू डे' ले ५७२ मिलियन डलर कमाएको छ। चीन सबभन्दा ठूलो विदेशी बजार बनेको छ। त्यहाँ फिल्मले १२१ मिलियन डलर कमाएको छ। अस्ट्रेलियामा पनि यो फिल्मले ३०.४ मिलियन डलर कमाउँदै सन् २०२६ कै सबभन्दा ठूलो ओपनिङ सप्ताहन्त दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
फिल्ममा टम हल्यान्ड चौथोपटक स्पाइडर-म्यान अर्थात् पिटर पार्करको भूमिकामा देखिएका छन्। मार्भल स्टुडियोजका अध्यक्ष केभिन फाइगीले यो सफलतालाई 'असाधारण ओपनिङ' भन्दै प्रतिक्रिया दिएका छन्।
विश्वव्यापी बक्स अफिसमा सबभन्दा ठूलो ओपनिङ गर्ने शीर्ष चार फिल्म अहिले मार्भलकै रहेका छन्। 'एभेन्जर्सः एन्डगेम' १.२२ अर्ब डलरसहित पहिलो, 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ९२७ मिलियन डलरसहित दोस्रो, 'एभेन्जर्सः इन्फिनिटी वार' ६४० मिलियन डलरसहित तेस्रो र 'स्पाइडर-म्यानः नो वे होम' ६०० मिलियन डलरसहित चौथो स्थानमा छन्।
फिल्मलाई समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। डेस्टिन ड्यानियल क्रेटन निर्देशित यो फिल्ममा टम हल्यान्ड, जेन्डाया, सेडी सिन्क र जेकब बटालोनलगायतको अभिनय छ।
'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ले नेपालमा पनि ठूलो कमाइ गरिरहेको छ।
आइतबारसम्म फिल्मले नेपालमा ८ करोड रूपैयाँको आँकडा पार गरेको छ।