बलिउड अभिनेता सलमान खानले आफ्नो स्वास्थ्यबारे फैलिएको चर्चामा पहिलो पटक प्रतिक्रिया दिएका छन्। पछिल्लो केही सातादेखि उनी निकै दुब्लाएको देखिएपछि सामाजिक सञ्जालमा उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भइरहेको थियो।
प्राइम भिडिओको रियालिटी शो 'अलाइन्स'मा सहभागी हुँदा सलमानले आफूले तौल घटाएको स्पष्ट पारे। कार्यक्रममा आफ्ना भाइ सोहेल खानसँग कुरा गर्दा उनले सोहेलको तौल पनि घटेको उल्लेख गरे। सोहेलले १२ केजी तौल घटाएको बताएपछि सलमानले आफूले १६ केजी तौल घटाएको खुलासा गरेका थिए।
यसअघि मुम्बईमा एक कार्यक्रममा देखिएका सलमान पहिलेभन्दा निकै दुब्लो देखिएपछि उनी कुनै रोगबाट ग्रस्त भएको हुनसक्ने चर्चा चलेको थियो। तर अलायन्स कार्यक्रममा दिएको अभिव्यक्तिले ती स्वास्थ्यसम्बन्धि सबै अड्कलबाजी अन्त्य गरेको छ।
सलमानले तौल किन घटाए भन्नेबारे भने खुलाएका छैनन्। तर भारतीय संचारमाध्यमका अनुसार उनले आफ्ना् आगामी एक्सन थ्रिलर फिल्मको तयारीका लागि फिटनेशको विशेष ध्यान दिएको हुनसक्ने अनुमान गरिएको छ। वर्किङ टाइटल ‘एसभीसी ६३’ राखिएको उक्त फिल्ममा सलमान दक्षिण भारतीय अभिनेत्री नयनतारासँग देखिनेछन्।
सलमान छिट्टै बिग बोसको नयाँ सिजनमार्फत पनि टेलिभिजनमा फर्किने तयारीमा छन्।