भारतीय अभिनेत्री रश्मिका मन्दाना फिल्म छायांकनका क्रममा घाइते भएकी छन्।
फिल्म 'मैसा'को डान्स छायांकनका क्रममा उनको दाहिने हिपमा गम्भीर चोट लागेको हो।
यो चोट हालैको नभई केही दिनअघिको हो। इन्स्टाग्राममा लामो पोस्ट गर्दै रश्मिकाले आफू केही समयदेखि सार्वजनिक रूपमा नदेखिनुको कारण यही चोट भएको उल्लेख गरेकी छन्। 'चोट लाग्नु निकै नराम्रो हुन्छ। मलाई लाग्थ्यो कसैले थाहा पाउने छैन, तर अब सबै कुरा बाहिर आएको छ,' उनले लेखेकी छन्।
रश्मिकाका अनुसार यो उनको लगातार तेस्रो चोट हो। उनको हिपको दाहिने भागमा चोट लागेको हो। एउटा टेन्डन छुट्टिएको र त्यसलाई निको हुन समय लाग्ने रश्मिकाले जानकारी दिएकी छन्। 'यो चोट ‘मैसा’का लागि गरिएको डान्स सुटिङका क्रममा लागेको हो। यो मेरो करिअरकै सबभन्दा चुनौतीपूर्ण डान्समध्ये एक थियो,' उनले लेखेकी छन्।
उनले शरीरलाई मेसिनजस्तो नभई मानिसको शरीरजस्तो व्यवहार गर्न सिक्नुपर्ने महसुस भएको समेत बताएकी छन्।
उनी हाल चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेकी छिन्। केही समय व्यायाम तथा दौड गर्न नपाउने बताउँदै उनले प्रशंसकलाई चिन्ता नगर्न समेत आग्रह गरेकी छन्।
'दुखाइ छ, तर सहन नसकिने खालको होइन। सायद भगवानले मलाई जबर्जस्ती विश्राम दिएका हुन्,' उनले पोस्टमा लेखेकी छन्।