भारतीय अभिनेता प्रदीप रावतको करिअरको सबभन्दा ठूलो मोडमध्ये एक मानिन्छ– गजनी। आज पनि 'गजनी' फिल्मलाई आमिर खानको रूपान्तरणको लागि मात्र नभई प्रदीप रावतको शक्तिशाली र भयानक अभिनयको लागि पनि सम्झिन्छ।
यो फिल्मका लागि आमिर खानको नाम निर्देशकलाई प्रदीप रावतले नै सुझाएका थिए। यसको मूल दक्षिण भारतीय संस्करणमा प्रदीपले नै खलपात्रको भूमिका निर्वाह गरेका थिए। त्यस अनुभवका आधारमा उनले हिन्दी संस्करणका लागि आमिर उपयुक्त हुने सुझाव दिएका थिए, जसलाई निर्देशकले स्वीकार गरेका थिए।
प्रदीपले केही समयअघि एक अन्तर्वार्तामा यो कुरा खुलाएका थिए।
प्रदीप रावत र आमिर खानको सहकार्य 'लगान'मा पनि भएको थियो। प्रदीपले केही समयअघि अन्तर्वार्तामा बताएअनुसार 'लगान'का लागि भूमिका प्रस्ताव गर्न आमिर खान स्वयंले उनको घरमा फोन गरेका थिए।
रावतले एक अन्तर्वार्तामा दक्षिण भारतीय फिल्म उद्योगमा समयमै पारिश्रमिक पाइने, हिन्दी फिल्मभन्दा धेरै पारिश्रमिक दिइने र कलाकारलाई बढी सम्मान गरिने भएकाले आफूले त्यहाँ बढी काम गरेको बताएका थिए।
टिभी धारावाहिक 'महाभारत' मा अश्वत्थामाको भूमिकाका लागि पनि परिचित प्रदीपले करिब १५० फिल्ममा अभिनय गरेका छन्। उनले हिन्दी, तमिल, तेलुगु, कन्नड, मलयालम भाषाका सिनेमामा आफ्नो छुट्टै पहिचान बनाएका थिए। पछिल्लो समय उनले एकपछि अर्को नेपाली फिल्ममा समेत काम गरेका थिए।
उनले 'ह्स्व दीर्घ'बाट नेपाली फिल्ममा डेब्यु गरेका थिए। गत वर्षको सुपरहिट फिल्म 'आबाट आमा'मा प्रदीप शीर्षमध्येको भूमिकामा थिए।
चन्द्र पन्त निर्देशित 'आबाट आमा'को सिक्वेलमा समेत प्रदीपले अभिनय गरेका छन्, जुन यस वर्षको दसैंमा प्रदर्शनमा आउने तय छ।
बलिउड र दक्षिण भारतीयसँगै नेपाली फिल्ममा समेत अभिनय गरेका उनै अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ।
ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईमा उपचारका क्रममा उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
प्रदीपको अन्त्येष्टि बुधबार साँझ गरिनेछ। जोगेश्वरी पश्चिम, मुम्बईस्थित ओशिवारा श्मशानभूमिमा अन्त्येष्टि गरिने जनाइएको छ। त्यसअघि गोरेगाउँ पश्चिमस्थित इम्पेरियल हाइट्समा रहेको उनको निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ।
उनको निधनमा नेपाली फिल्मकर्मीहरूले समेत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।