बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले पहिलो पटक आफ्नो छोराको अनुहार सार्वजनिक गरेका छन्।
दीपावलीको अवसर पारेर आइतबार उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरासँगको पारिवारिक तस्बिर सार्वजनिक गरेका हुन्।
यसअघि उनीहरूले छोराको नाम सार्वजनिक गरे पनि अनुहार देखाएका थिएनन्।
उनीहरूको छोराको नाम विहान कौशल हो।
तस्बिरमा कट्रिना र विक्की छोराका साथ परम्परागत पहिरनमा देखिएका छन्।
तस्बिरमा विहान मुस्कुराउँदै दुवै हात उठाएर क्यामरातर्फ हेरिरहेका छन्। कट्रिना र विक्की छोराको दुवैतर्फ बसेर मुस्कुराइरहेका छन्।
तस्बिरसँगै उनीहरूले लेखेका छन्, 'हाम्रो सबैभन्दा उज्यालो दीपावली। सबैलाई प्रेम, प्रकाश र खुसीको शुभकामना।– विक्की, कट्रिना र विहान।'
विहानले शनिबार (नोभेम्बर ७) आफ्नो पहिलो जन्मदिन मनाएका थिए।
कट्रिना र विक्कीले सन् २०२५ नोभेम्बर ७ मा पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएका थिए।
त्यसको दुई महिनापछि सन् २०२६ जनवरीमा उनीहरूले छोराको नाम विहान कौशल राखेको सार्वजनिक गरेका थिए।
विहान जन्मिएपछि कट्रिना र विक्कीले उनलाई सार्वजनिक नजरबाट टाढै राख्दै आएका थिए।
त्यसैले दीपावलीको अवसरमा सार्वजनिक गरिएको पारिवारिक तस्बिरलाई उनीहरूका प्रशंसकले विशेष चासोका साथ लिएका छन्।
तस्बिरमा बलिउडका कलाकारहरूले पनि प्रतिक्रिया र शुभकामना दिएका छन्।
कट्रिना र विक्कीले सन् २०२१ डिसेम्बरमा बिहे गरेका थिए।