हलिउड फिल्म 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ले विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ।
मार्भल स्टुडियोज र सोनी पिक्चर्सको यो फिल्मले प्रदर्शनको ६ दिनमै उक्त उपलब्धि हासिल गरेको हो।
छोटो समयमै यो उपलब्धि हासिल गर्ने फिल्ममध्ये 'एभेन्जर्सः एन्डगेम' (२०१९) पछि 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' दोस्रो फिल्म बनेको छ।
फिल्मले उत्तर अमेरिकामा मात्र ४०७ मिलियन डलर कमाएको छ। योसँगै यसले घरेलु बजारमा सबभन्दा छिटो ४०० मिलियन डलर पार गर्ने फिल्मको रेकर्ड बनाएको छ। विदेशी बजारबाट भने ६४५.८ मिलियन डलर कमाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
'ब्रान्ड न्यू डे' ले प्रदर्शनको सुरूआतदेखि नै धेरै रेकर्ड तोडिरहेको छ। यसअघि यसले पहिलो सप्ताहन्तमै ९३२ मिलियन डलर विश्वव्यापी कमाइ गर्दै वर्षकै सबभन्दा ठूलो ओपनिङमध्ये एक बनाएको थियो।
मार्भल स्टुडियोजका अध्यक्ष केभिन फाइगीले यो सफलताले आगामी 'एभेन्जर्सः डुम्सडे' जस्ता मार्भल फिल्मका लागि पनि सकारात्मक संकेत दिएको बताएका छन्।
डेस्टिन ड्यानियल क्रेटन निर्देशित 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' मा टम हल्यान्ड, जेन्डाया, जेकब बाटालोन, जोन बर्नथल र मार्क रफालो मुख्य भूमिकामा छन्।
फिल्म 'नो वे होम'पछि संसारले पिटर पार्करलाई बिर्सिएको अवस्थाबाट सुरू हुन्छ, जहाँ उसले नयाँ शक्तिशाली शत्रुसँग सामना गर्छ।
'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' नेपालका सिनेमा हलहरूमा समेत प्रदर्शन भइरहेको छ। नेपालमा पनि फिल्मले ठूलो कमाइ गरेको छ।