बहुप्रतीक्षित भारतीय फिल्म ‘रामायण’ आगामी नोभेम्बर ६ (कात्तिक २०) मा विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ।
यसअघि सार्वजनिक गरिएको ट्रेलरमा फिल्म आगामी दीपावलीमा प्रदर्शन हुने उल्लेख गरिए पनि मिति घोषणा थिएन। यसैबीच रणवीर कपूर अभिनीत यो फिल्म नोभेम्बर ६ मा विश्वव्यापी प्रदर्शनको तयारी गरिएको बलिउड हंगामाले जनाएको छ।
अधिकांश अन्तर्राष्ट्रिय बजारमा पनि भारतकै दिन फिल्म रिलिज गर्ने तयारी गरिएको हो।
भारतमा 'रामायण'को वितरण धर्मा प्रोडक्सन्सले गर्नेछ भने विदेश वितरण अधिकार सोनी पिक्चर्ससँग रहेको बताइएको छ। फिल्मका दुवै भागको संगीत अधिकार टी-सिरिजले ७५ करोड भारूमा खरिद गरेको समाचार पनि सार्वजनिक भइसकेको छ।
फिल्ममा रणवीर कपूर भगवान राम, साई पल्लवी सीता, यश रावण, सन्नी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन्।
'दंगल' निर्देशक नितेश तिवारीद्वारा निर्देशित यो फिल्ममा संगीत ए.आर. रहमान र हान्स जिम्मरले दिएका छन्।
नमित मल्होत्रा निर्मित 'रामायण' दुई भागमा निर्माण भइरहेको छ। पहिलो भाग दीपावली २०२६ मा र दोस्रो भाग दीपावली २०२७ मा प्रदर्शन हुने जनाइएको छ।
फिल्मको केही दिनअघि सार्वजनिक ट्रेलरलाई लिएर यतिबेला चर्चा भइरहेको छ।