बलिउड अभिनेता राजपाल यादव लामो समयदेखि आर्थिक तथा कानुनी विवादमा छन्। उनको यो विवाद अझै सुल्झिएको छैन।
यसैबीच, उनको उत्तर प्रदेशको शाहजहाँपुरस्थित पुर्ख्यौली घर लिलामी प्रक्रियामा परेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ।
१६ करोड ६१ भारू बक्यौता ऋण असुल नभएपछि सेन्ट्रल बैंक अफ इन्डियाले उत्तर प्रदेशको शाहजहाँपुरस्थित उनको पुर्ख्यौली सम्पत्ति लिलामी गर्न लागेको हो।
बैंकले सम्पत्तिमा सूचना टाँसेर तोकिएको समयभित्र ऋण नतिरेमा आगामी सेप्टेम्बर ९, २०२६ मा अनलाइन लिलामी गरिने जनाएको छ। लिलामीमा सहभागी हुन इच्छुक व्यक्तिले सेप्टेम्बर ७ भित्र ३१ लाख भारू धरौटी बुझाउनुपर्ने छ।
यो कदम दिल्ली उच्च अदालतले केही साताअघि यही ऋणसँग सम्बन्धित चेक बाउन्स मुद्दामा राजपाल यादवलाई तीन महिनाको कैद सजाय सुनाएपछि आएको हो।
बैंकका अनुसार राजपाल यादव, उनकी पत्नी र उनकी आमाको नाममा गरी करिब १६.६१ करोड भारू बक्यौता रहेको छ। शाहजहाँपुरको कुन्द्रा गाउँस्थित पुर्ख्यौली घरसँगै अर्को एक सम्पत्ति पनि लिलामी प्रक्रियामा समावेश गरिएको छ।
राजपाल यादवका दाजु श्रीपाल यादवले भने बैंकसँग ऋण तिर्ने विषयमा छलफल भइरहेको र लिलामी हुनुअघि नै समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
यो विवाद राजपाल यादवको निर्देशनमा बनेको फिल्म 'अता पता लापता' बाट सुरू भएको हो।
उनले सन् २००५ मा आफ्ना अभिभावकको नाममा कम्पनी स्थापना गरी फिल्म निर्माणका लागि ५ करोड भारू ऋण लिएका थिए। फिल्म असफल भएपछि ऋण तिर्न नसक्दा ब्याज र अन्य शुल्क थपिँदै बक्यौता रकम १६.६१ करोड रूपैयाँ पुगेको बैंकको दाबी छ।
यसअघि पनि अगस्ट २०२४ मा बैंकले शाहजहाँपुरस्थित उनको सम्पत्तिको एक भाग सिल गरेको थियो। त्यतिबेला बक्यौता रकम करिब ११ करोड रूपैयाँ पुगेको बताइएको थियो।
राजपाल यादवविरूद्धको चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतले जुलाई ७ मा तीन महिनाको कैद सजाय सुनाउँदै प्रत्येक सात वटा मुद्दामा १ करोड ५ लाख भारू तिर्न आदेश दिएको थियो।
अदालतले उनले यसअघि जम्मा गरेको करिब २ करोड भारू कुल बक्यौतामा समायोजन हुने पनि जनाएको थियो।