बलिउड फिल्म 'रामायण'ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। प्रदर्शनको ८ दिनमै फिल्मले विश्वव्यापी बक्स अफिसमा एक हजार करोड भारूभन्दा बढीको व्यापार गरेको हो।
बक्स अफिससम्बन्धी तथ्यांक सार्वजनिक गर्ने वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले ८ दिनमा विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारू ग्रस कमाइ गरेको छ। यससँगै ‘रामायण’ एक हजार करोड क्लबमा प्रवेश गर्ने भारतीय फिल्मको सूचीमा ११ औं स्थानमा परेको छ।
स्याकनिल्कको तथ्यांकअनुसार फिल्मले भारतमा मात्रै ८ दिनमा ५६४.६० करोड भारू नेट कमाइ गरेको छ। भारतमा यसको ग्रस कलेक्सन ६७५.०५ करोड भारू पुगेको छ। त्यस्तै, भारत बाहिरबाट फिल्मले ३५८.५० करोड भारू कमाएको छ।
फिल्मले प्रदर्शनको आठौं दिन अर्थात् बिहीबार भारतमा सबै भाषाबाट ५३.५० करोड भारू नेट कमाएको छ। यस दिन हिन्दी संस्करणबाट मात्रै ४३ करोड भारू नेट कमाइ भएको स्याकनिल्कले उल्लेख गरेको छ।
नितेश तिवारी निर्देशित 'रामायण'मा रणवीर कपूरले रामको भूमिका निर्वाह गरेका छन्। फिल्ममा साई पल्लवी सीता, यश रावण, रवी दुबे लक्ष्मणको भूमिकामा देखिएका छन्।
'रामायण' रणवीर कपूरको करिअरमा एक हजार करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्मसमेत बनेको छ। यसअघि उनको सर्वाधिक कमाइ गर्ने फिल्म 'एनिमल' थियो।
'रामायण'ले नेपालमा समेत ठूलो कमाइ गरिरहेको छ।