भारतीय फिल्म 'मिर्जापुरः द मुभी'ले बक्स अफिसमा राम्रो सुरूआत गरेको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले तीन दिनमै भारतमा ९३ करोड ७५ लाख भारू नेट कमाइ गरेको जनाइएको छ।
'मिर्जापुरः द मुभी' भारतको चर्चित क्राइम-ग्याङ्स्टर वेब सिरिज 'मिर्जापुर' को फिल्म संस्करण हो।
भारतीय संचारमाध्यमहरूका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन २५ करोड भारू नेट कमाएको थियो। दोस्रो दिन शनिबार कमाइमा २५ प्रतिशतभन्दा बढी वृद्धि गर्दै ३२ करोड भारू जोडेको थियो। यससँगै दुई दिनको कमाइ ५७ करोड ७५ लाख भारू पुगेको थियो।
तेस्रो दिन आइतबार फिल्मले ३६ करोड रूपैयाँ नेट कमाएको भारतीय बक्स अफिससम्बन्धी वेबसाइट सैकनिल्कले जनाएको छ। योसँगै फिल्मको पहिलो सप्ताहन्तको कमाइ ९३ करोड ७५ लाख भारू पुगेको हो।
फिल्मले अब १०० करोडको आँकडा पार गर्ने लक्ष्य राखेको छ। विशेषगरी उत्तर प्रदेश, बिहार र दिल्लीमा फिल्मले राम्रो व्यापार गरेको बताइएको छ।
कुनै ठूलो स्टारको नाममा निर्भर नरहेको फिल्मले पहिलो सप्ताहन्तमै ९० करोडभन्दा बढी कमाइ गर्नु उल्लेखनीय मानिएको छ।
फिल्मले यसै वर्ष प्रदर्शनमा आएको आलिया भट्ट र शर्वरी अभिनीत 'अल्फा'को लाइफटाइम कलेक्सनलाई समेत उछिनेको छ। 'अल्फा'ले भारतमा करिब ६० करोड भारू कमाएको जनाइएको छ।
सिरिजमा देखाइएको मिर्जापुरको अपराध, सत्ता र ग्याङ्स्टरको संसारलाई फिल्मको कथामा विस्तार गरिएको छ। यसलाई अमेजन एमजीएम स्टुडियो र एक्सेल इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो।
गुरमीत सिंहको निर्देशित फिल्मको लेखन पुनीत कृष्णाले गरेका छन्। रितेश सिधवानी र फरहान अख्तर निर्माता हुन्।
फिल्ममा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु, रवि किशन, जितेन्द्र कुमार, अभिषेक बनर्जी, रसिका दुग्गल, मोहित मलिकलगायत कलाकारहरूको अभिनय छ। फिल्म हिन्दी र तेलुगू भाषामा प्रदर्शनमा आएको हो।
'मिर्जापुरः द मुभी' नेपालमा समेत एकसाथ शुक्रबारदेखि नै प्रदर्शनरत छ।