चर्चित भारतीय फिल्म 'महाराजा'को सिक्वेल बन्ने भएको छ। अभिनेता विजय सेतुपतिले दोस्रो भाग बन्ने पुष्टि गरेका हुन्।
उनले निर्देशक निथिलन समीनाथनले 'महाराजा २'को कथा आफूलाई सुनाइसकेको बताएका छन्।
आफ्नो आगामी फिल्म 'बथ्था'को अडिओ सार्वजनिक कार्यक्रममा बोल्दै सेतुपतिले निथिलनको लेखनको प्रशंसा गर्दै 'महाराजा २'को कथा आफूलाई निकै मन परेको बताए।
'महाराजा'मा निर्देशक निथिलनसँगको सहकार्य उत्कृष्ट रहेको उनको भनाइ थियो।
यसैबीच, सन् २०२४ मा प्रदर्शनमा आएको 'महाराजा'को हलिउड रिमेकसमेत बन्ने भएको छ।
फिल्मका निर्माता सुधन सुन्दरमका अनुसार चीनमा फिल्मले राम्रो प्रदर्शन गरेपछि हलिउडको एक एजेन्सीले रिमेक अधिकारका लागि निर्मातासँग सम्पर्क गरेको थियो। उक्त एजेन्सीले ए–लिस्ट कलाकारलाई लिएर परियोजना अघि बढाइरहेको र अर्को वर्षदेखि छायांकन सुरू हुन सक्ने उनले 'द टाइम्स अफ इन्डिया'लाई बताएका छन्।
हलिउड रिमेकमा आफूलाई पनि भूमिका दिन आग्रह गर्दै सेतुपतिले पारिश्रमिकबीना अभिनय गर्न तयार रहेको बताएका छन्। निर्माताले हलिउड अधिकार बिक्री भएको जानकारी दिएपछि आफूले ‘एउटा फिल्म निःशुल्क गर्छु, मलाई भूमिकामा राख्नुहोस्’ भनेको उनको भनाइ छ। हलिउडमा काम गर्ने आफ्नो लामो समयदेखिको रूचि रहेको उनले बताए।
रिमेकमा म्याथ्यु म्याककोनहेले मुख्य भूमिका निर्वाह गर्ने चर्चा चले पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। निर्माता सुन्दरमले म्याककोनहेले सम्भावित कलाकारमध्ये एक हुन सक्ने तर कलाकार र स्टुडिओबारे अन्तिम जानकारी सम्बन्धित एजेन्सीले दिने बताएका छन्।
निथिलन स्वामिनाथन निर्देशित 'महाराजा'मा विजय सेतुपतिले नाइको भूमिका निर्वाह गरेका थिए। फिल्ममा अनुराग कश्यपसमेत प्रमुख भूमिकामा छन्। फिल्म पछि नेटफ्लिक्समा समेत रिलिज भएको थियो।