भारतीय अभिनेता आयुष्मान खुराना आगामी फिल्म 'उड्ता तीर'मा पाकिस्तानी जासूसको भूमिकामा देखिने भएका छन्।
बुधबारमात्रै निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै ट्रेलर सार्वजनिक गरेको थियो। फिल्ममा आयुष्मानले बिलाल अहमद नाम गरेका पाकिस्तानी जासूसको भूमिका निभाएका छन्।
भारतमा एउटा मिसनका क्रममा रहेका बेला दुर्घटनामा परेपछि उनको स्मरणशक्ति गुम्छ। त्यसपछि आफू पाकिस्तानी जासूस भएको बिर्सिएर उनले आफू भारतीय भएको विश्वास गर्न थाल्छन्। यही घटनाबाट फिल्मको कथा अगाडि बढ्छ।
ट्रेलर सार्वजनिक गर्न आयोजिक कार्यक्रममा बोल्दै आयुष्मानले पाकिस्तानी जासूसको भूमिका निर्वाह गर्न आफूलाई कुनै हिचकिचाहट नभएको बताएका छन्।
फिल्ममा उनको पात्रले 'पाकिस्तान जिन्दाबाद' भन्ने संवाद बोल्नुपर्ने विषयमा समेत प्रश्न गरिएको थियो। त्यसको जबाफमा उनले त्यो पटकथाको हिस्सा भएको बताए। कलाकारका रूपमा आफूलाई पटकथाले मागेको भूमिका निर्वाह गर्न कुनै समस्या नहुने उनको भनाइ थियो।
'यो पटकथाको हिस्सा हो। कलाकारका रूपमा तपाईं जे गर्न पनि तयार हुनुहुन्छ। म सधैं पहिले पटकथा हेर्छु। पटकथाले मबाट जे माग्छ, म त्यही गर्छु,' आयुष्मानले भनेका थिए।
उनले 'उड्ता तीर'लाई जासूसी, देशभक्ति र हास्य मिसिएको फरक शैलीको फिल्मका रूपमा समेत व्याख्या गरेका छन्।
आयुष्मानले आफ्नो पात्रलाई चुनौतीपूर्ण भूमिकासमेत बताएका छन्। वरिपरि निरन्तर हास्य र अन्योलपूर्ण परिस्थिति भइरहँदा पनि आफूले गम्भीर भाव कायम राख्नुपर्ने भएकाले भूमिका कठिन भएको उनको भनाइ थियो।
फिल्ममा आयुष्मानसँगै सारा अली खान मुख्य भूमिकामा छिन्।
आकाश ए. कौशिकको निर्देशनमा बनेको 'उड्ता तीर' उनको पहिलो निर्देशकीय फिल्म हो।
धर्मा प्रोडक्सन र सिख्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म आगामी अक्टोबर ९ देखि विश्वव्यापी प्रदर्शनमा आउने तय छ।