दुई करोड भारूभन्दा कम बजेटमा बनेको भारतीय फिल्म 'हनुमान अंश'को कमाइले धेरैलाई आश्चर्यमा पारेको छ।
भारतीय संचारमाध्यमहरूका अनुसार यो फिल्मले विश्वव्यापी रूपमा ३७० करोड भारूभन्दा बढी कमाइ गरिसकेको छ। सुरूआती दिनमा कमजोर व्यापार गरेको फिल्मले विस्तारै गति लिँदै ठूलो व्यावसायिक सफलता हासिल गरेको हो।
फिल्मले प्रदर्शनअघि भने लगानी जुटाउन निकै संघर्ष गर्नुपरेको थियो। फिल्मकी निर्माता अनुप्रिया नगरका अनुसार निर्माणको क्रममा पोस्ट-प्रोडक्सनका लागि लगानी जुटाउन धेरै व्यक्तिसँग सहयोग मागिएको थियो। तर सानो बजेट, नयाँ निर्देशक र नयाँ कलाकार भएकाले धेरैले फिल्ममा विश्वास गरेनन्।
भारतीय प्रस्तोता एवं अन्तर्वार्ताकार सिद्धार्थ कन्ननसँगको कुराकानीमा अनुप्रियाले निर्माणको क्रममा लगानी जुटाउन निकै कठिन भएको बताइन्।
उनका अनुसार फिल्म सानो बजेटमा बनेको, निर्देशक विशाल चतुर्वेदीको पहिलो फिल्म भएको र कलाकारहरू पनि नयाँ भएकाले धेरैले यसमा विश्वास गरेका थिएनन्। प्रदर्शनअघि केही व्यक्तिले सहयोग गरे पनि पोस्ट-प्रोडक्सनका लागि लगानी जुटाउन टोलीले धेरैसँग सम्पर्क गरेको उनको भनाइ छ।
'धेरै मानिसले यो फिल्ममा विश्वास गरेका थिएनन्। उनीहरूलाई यो सानो बजेटको फिल्म हो, निर्देशकको पहिलो फिल्म हो र कलाकारहरू पनि नयाँ छन् भन्ने लागेको थियो,' अनुप्रियाले भनिन्। उनका अनुसार केही निर्माताले पछि सम्पर्क गर्दै आफूहरूले फिल्ममा सहभागी हुन नपाउनु आफ्नो 'सबैभन्दा ठूलो गल्ती' भएको बताएका थिए।
उनले ती निर्माताहरूको निर्णयप्रति आफूलाई कुनै गुनासो नभएको पनि बताएकी छन्। 'म उनीहरूलाई दोष दिन्नँ, किनकि यो निकै सानो फिल्म थियो,' उनले भनेकी छन्। फिल्मले सानो लगानीमा पनि ठूलो सफलता हासिल गर्न सक्ने देखाएको उनको भनाइ छ।
विशाल चतुर्वेदीको निर्देशनमा बनेको 'हनुमान अंश' भारतका चर्चित आध्यात्मिक गुरू नीम करोली बाबाको जीवनबाट प्रेरित फिल्म हो। यसमा शोभिनाव सत्याले नीम करोली बाबाको भूमिका निर्वाह गरेका छन्।
आमाको निधनपछि आध्यात्मिक यात्रामा निस्किएका लक्ष्मीनारायणको जीवनयात्रामार्फत फिल्मले उनको आध्यात्मिक रूपान्तरणको कथा प्रस्तुत गर्छ।
'हनुमान अंश' नेपालका सिनेमा हलहरूमा समेत अझै प्रदर्शनरत छ।