भारतीय निर्देशक सञ्जयलीला भन्सालीको बहुप्रतीक्षित फिल्म 'लभ एन्ड वार'बाट अभिनेता विक्की कौशलका दुई फरक रूप सार्वजनिक भएका छन्। निर्माण पक्षले विक्कीका दुई पोस्टर दर्शकमाझ ल्याएको हो।
पहिलो पोस्टरमा विक्की निकै गम्भीर र आक्रामक देखिन्छन्। उनको अनुहारमा चोटका निशान छन् भने मुखमा चुरोट र हातमा लाइटर देखिन्छ। क्यामेरातर्फ सिधा हेरिरहेको उनको भावले चरित्रको गम्भीरता झल्काउँछ।
तर दोस्रो पोस्टरले भने उनको रूप नै बदलिदिन्छ। यसमा विक्की पानीभित्र बसेका छन् र हातमा फूलको गुच्छा बोकेका छन्। पहिलो पोस्टरको कठोर र गम्भीर भावको ठीक विपरीत दोस्रो पोस्टरमा उनलाई शान्त र भावुक रूपमा देखाइएको छ।
दुई पोस्टरमा देखिएको यही विपरीत रूपले विक्कीको चरित्रलाई लिएर थप कौतूहल बढाएको छ। फिल्ममा उनको भूमिका कस्तो हुनेछ र यी दुई फरक रूपको कथासँग के सम्बन्ध छ भन्ने खुलाइएको छैन।
'लभ एन्ड वार'मा विक्कीसँगै रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा छन्। निर्माण पक्षले यसअघि क्रमशः रणवीर र आलियाको पनि पहिलो झलक सार्वजनिक गरिसकेको छ।
यो फिल्म सन् २०२७ जनवरी २१ देखि प्रदर्शन हुनेछ।
