बलिउड अभिनेता शाहरूख खानको नाम जोडिएको दुबईको विलासी आवासीय परियोजनाका सबै पेन्टहाउस उद्घाटनकै दिन बिक्री भएका छन्।
तीमध्ये प्रत्येक पेन्टहाउसको मूल्य कम्तीमा ५० करोड भारतीय रूपैयाँ अर्थात् १९.६ मिलियन दिराम तोकिएको थियो।
दुबईस्थित रियल इस्टेट कम्पनी ड्यान्युब प्रपर्टिजले निर्माण गर्न लागेको ‘शाहरुख्ज रेसिडेन्सेज बाई ड्यान्युब’ का सबै पेन्टहाउस नोभेम्बर ११ मा परियोजना सार्वजनिक भएकै दिन बिक्री भएको कम्पनीले जनाएको छ।
दुबईको कोकाकोल एरिनामा आयोजित कार्यक्रममा शाहरूख खान, उनकी पत्नी तथा इन्टेरियर डिजाइनर गौरी खान, ड्यान्युब ग्रुपका अध्यक्ष रिजवान साजन र फिल्म निर्माता करण जोहर सहभागी थिए।
यस परियोजनाका पेन्टहाउस गौरी खानले डिजाइन गरेकी हुन्। उनले पेन्टहाउसमा विलासी सुविधासँगै समुद्र किनारको दृश्यलाई ध्यानमा राखेर डिजाइन तयार पारेको बताएकी छन्।
ड्यान्युब ग्रुपका अध्यक्ष रिजवान साजनका अनुसार परियोजना सार्वजनिक हुनुअघि नै यसमा ५०० जनाले चासो देखाएका थिए। कम्पनीले सबै पेन्टहाउस बिक्री भएको घोषणा गरेको हो। तर, कति वटा पेन्टहाउस बिक्री भए भन्ने संख्या सार्वजनिक नगरिएको खालिज टाइम्सले जनाएको छ।
दुबईको मेरिटाइम सिटीमा निर्माण हुने यो परियोजना पूर्ण रूपमा फर्निस्ड आवासीय टावर हो। यसमा स्टुडियो, एक, दुई र तीन बेडरूमका अपार्टमेन्टसँगै विशेष पेन्टहाउस रहने छन्।
कम्पनीका अनुसार परियोजना सन् २०२९ सम्म पूरा गर्ने लक्ष्य छ।
यो शाहरूख खान र ड्यान्युब प्रपर्टिजबीचको दोस्रो रियल इस्टेट सहकार्य हो।
यसअघि कम्पनीले शाहरूखको नाममा दुबईको शेख जायेद रोडमा ‘शाहरूख्ज बाई ड्यान्युब’ नामको व्यावसायिक टावर सार्वजनिक गरेको थियो। सन् २०२५ मा सार्वजनिक गरिएको उक्त टावर पनि उद्घाटनकै दिन बिक्री भएको कम्पनीले जनाएको थियो।