माछापुच्छ्रे र सेती खोँचले जन्माएका कवि निष्प्रभ सजी साठीको दशकमा पोखरा सेरोफेरोमा सबैले चिनेको नाम हो। सत्तरीको दशकमा ‘डार्लिङ हार्बर’लेखेर आख्यान क्षेत्रमा पनि उनले आफ्नो बलियो उपस्थिति देखाए। डायसपोरिक नेपाली साहित्यका सशक्त कवि, उपन्यासकार, गीतकार निष्प्रभको ‘याली ‘चौथो साहित्यिक कृति तथा दोस्रो उपन्यास हो।
पिएन क्याम्पसका प्रेक्षालय, तत्कालीन पोखराका एफएम रेडियोमा निष्प्रभ आफ्नो सुमधुर एवं ओजिलो आवाजले श्रोताहरूलाई मन्त्रमुग्ध बनाउँथे। उनलाई त्यस समय मीठो स्वरका धनी सेलिब्रेटी कविका रूपमा चिनिन्थ्यो पोखरामा। पछिल्लो समय कवि नवराज पराजुली आफ्ना कविताको प्रस्तुतिले गर्दा देश विदेशमा सेलिब्रेटी कविको रूपमा चिनिएका छन्। धेरै उपेक्षित विधाका रूपमा व्याख्या गरिने कविताको उन्नतिका लागि कवितामा विशेष प्रस्तुति दिने यस्ता सेलिब्रेटी कविहरूको योगदान महत्त्वपूर्ण हुन्छ।
जीवनयापनका सुखद-दुखद परिवेशले परदेश हानिएका निष्प्रभले आफूले देखे भोगेका मात्र नभई १०० वर्ष पहिले लाहुरे भएका परदेशी नेपालीका सुखदुखलाई ‘याली’ उपन्यासमा रोचक तरिकाले प्रस्तुत गरेका छन्। कथा सुरु-सुरुमा सललल नबगे जस्तो लागे पनि खोँचमा बग्ने सेती जस्तो आफ्नो बग्ने धार चाहिँ समातेको नै छ। रोचक कुरा पात्रहरूका सुख र दुख पनि सेती नदी जस्तै कतै फाँटमा सललल त कतै गर्भ भित्र लुकेर बगेका छन्। सेतीको सुस्केरा जस्तै ती वेदनालाई केबल महसुस गर्न सकिन्छ, देख्न सकिन्न।
उपन्यासका पात्रहरू भाषा, परिन, देवकी, इन्दिरा, बिन्दु, मुक्ति आदिले बाचेको समाज र परिवेश भिन्न-भिन्न समय समाज र भूगोलको छ। अहिले नेपालीहरू लाहुरे हुन विश्वका विभिन्न ठाउँमा पुगेका छन्। कति रहरले लाहुरे बनेका छन्, कति बाध्यताले। तर १०० वर्षअघि नेपालीहरू लाहुरे हुने रहर त बोक्दैनथे। बाध्यता र गरिबीको चपेटाले उनीहरू लाहुरे बन्थे। लाहुरे हुन जाने ठाउँहरू सीमित थिए। कि त ब्रिटिश भारतीय सेनामा जान्थे लाहुरे हुन कि असम डिब्रुगड, कलकत्ता जान्थे। सोझा नेपालीहरू विभिन्न जालसाजी र प्रलोभनमा परी बर्मा, याङगुन मात्र होइन फिजीसम्म पनि पुगे, अझै पुर्याइए भन्नु पर्छ। जहाँ पुगे पछि त्यो समयमा नेपाल फर्कनु भनेको असम्भव नै थियो। आफ्ना भूगोल र आफन्तीहरूलाई सपनामा देख्नु सिवाय केही उपाय थिएन।
उनीहरूका आफन्त खोज्न जाने अवस्था पनि हुन्थेन। कतिपय जीवनको उषा नदेख्दै हराउँथे। तर कतिपय नेपाली भारतबाट सँगै आएका बिहारीहरूसँग घरजम गरेर जीवन चलाउँथे त कतिपयले आदिवासी फिजीयनसँग उतै घरजम गरेर मन बुझाउँथे। नेपाल मनमा त रह्यो तर संस्कृति भाषामा कायमै रहेन। यद्यपि उनीहरूको परिचय नेपालीकै नाममा रह्यो। भाषा संस्कृति बिनाको त्यो परिचयले नाम त दियो तर प्राण दिएन। जस्तो कि रोबट दाजुभाइ (ट्याक्सी चालकहरू)।
आजभोलिको विश्वव्यापीकरण युगमा व्यक्तिको अस्तित्व नामेट पार्न मान्छेको भौतिक जीवन नामेट पार्न आवश्यक छैन। उनीहरूको भाषा, संस्कृति र सभ्यतालाई ध्वस्त पारे हुन्छ। नव-उपनिवेशवादले यसलाई सांस्कृतिक उपनिवेश नै मान्दछ। भौगोलिक उपनिवेश बन्दा यस्तो भाषिक सांस्कृतिक उपनिवेश डरलाग्दो हुन्छ। जसले मान्छे ज्युँदो त हुन्छ तर प्राण बिनाको। वास्तवमा मान्छेको जीवन्त परिचय भनेको भाषा संस्कृति सहितको परिचय हो।
उपन्यासमा पोखरा विशेष गरी हेमजा, अस्ट्रेलिया, कलकत्ता र फिजीका घटना परिवेशलाई समानान्तर रूपमा देखाउन खोजिएको छ। उपन्यासमा प्रयुक्त भाषा काव्यमय छ। कविता जस्तै गीत जस्तै मिठासपूर्ण। पढ्दै जाँदा कतै-कतै प्राविधिक त्रुटिपूर्ण घटना र पात्रका नामहरू देखिन्छन्। त्यसलाई आगामी संस्करणमा प्रकाशकले सुधार गर्नुपर्ने देखिन्छ। पात्रहरूले बोलेका संवादहरूमा नेपाली भाषाको आञ्चलिकता मिठासयुक्त छ। वास्तवमा यस्तो आञ्चलिकताले भाषालाई सम्पन्न र संवृद्ध बनाउन मद्दत गर्छ।
नेपाली साहित्यको श्रीवृद्धिमा डायसपोरिक साहित्य अभिन्न अंग हो। ‘याली’ उपन्यासमार्फत साहित्यकार निष्प्रभ सजीले नेपाली साहित्यको श्रीवृद्धिमा एउटा इँटा थप्ने काम गरेका छन्। ‘याली’ उपन्यासको मेरो पाठकीय फिजी यात्रा सुखद रह्यो। हजुरहरूको ‘याली’ पठन सुखद रहोस्, हार्दिक शुभकामना।
