गुड फ्राइडे सिनेमा
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको शनिबार ५ वर्ष हुन्छ। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका थिए।
३४ वर्षीय राजपुतले फिल्म 'काइ पो चे' बाट बलिउडमा डेब्यु गरेका थिए।
फिल्ममा आउनुअघि उनी टेलिशृंखलामा काम गर्थे। सन् २००८ मा स्टारप्लसको 'किस देशमे है मेरा दिल' बाट टिभीमा डेब्यु गरेका उनले जिटिभीको 'पवित्र रिश्ता' बाट निकै चर्चा पाएका थिए।
टिभीका विभिन्न कार्यक्रममा देखिँदै आएका उनी सन् २०१३ मा 'काइ पो चे' फिल्ममा देखिए। यही फिल्मबाट उनी 'फिल्म फेयर अवार्ड फर बेस्ट मेल डेब्यू' मा मनोनीत पनि भए।
त्यही वर्ष उनले 'शुद्ध देशी रोमान्स' मा काम गरे। सन् २०१५ मा 'डिडेक्टिभ बोमकेश बक्षी' मा देखिएका उनले सन् २०१६ मा भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको बायोपिकमा मुख्य भूमिका निर्वाह गरे।
'एमएस धोनीः द अनटोल्ड स्टोरी' का लागि उनले उनी 'फिल्म फेयर अवार्ड फर बेस्ट एक्टर' मा पनि मनोनीत भए। यसबीच उनी 'रब्ता', 'केदारनाथ', 'सोनचिरिया', 'ड्राइभ' देखिए।
सन् २०१९ मा रिलिज उनको फिल्म 'छिछोरे' पनि व्यवसायिक रूपमा सफल भयो। यसपछि यही वर्ष उनको फिल्म 'दिल बेचारा' पनि आयो। यो नै उनको अन्तिम फिल्म थियो।
उनको सातवर्षे फिल्मी करिअरको उत्कृष्टमध्येको 'एमएस धोनीः द अनटोल्ड स्टोरी' आज गुड फ्राइडे सिनेमामा हामीले सिफारिस गरेका छौं।
महेन्द्र सिंह धोनी भारतीय क्रिकेटका सम्भवतः सर्वाधिक सफल र लोकप्रिय क्याप्टेन हुन्। आफ्नो नेतृत्वमा उनले क्रिकेटका सबै खाले ठूला प्रतियोगिता जितेर इतिहास रचेका छन्। 'एमएस धोनीः द अनटोल्ड स्टोरी' उनै सफल क्रिकेटरको जीवनका महत्त् पूर्ण घटना समेटिएका छन्। धोनीको भूमिकामा सुशान्तको अभिनय छ।
२०११ मा श्रीलंकाविरूद्धको विश्वकप फाइनल खेलमा धोनीले युवराज सिंहलाई नपठाएर आफै मैदानमा उत्रेका थिए। यो फिल्मको आरम्भ विश्वकप २०११ को त्यही सन्दर्भबाट हुन्छ।
धोनीको खेल जीवन र निजी जीवनका कथालाई सँगसँगै देखाइएको यो फिल्मले त्यसपछि दर्शकलाई तीन दशकअघिको समयमा पुर्याउँछ। उनको जीवनमा परिवार, साथीसंगीदेखि प्रशिक्षकको भूमिकाको महत्त्व पनि देखाइएको छ।
गरिब परिवारमा जन्मेर भारतको क्याप्टेन बन्दासम्मको यात्रा समेटिएको यो फिल्ममा धोनीजस्तै देखिन र क्रिकेटरको भूमिका निर्वाह गर्न सुशान्तले गरेको मेहनत उनको अभिनयमा झल्किन्छ।
फिल्मलाई यथार्थपरक बनाउन निर्देशकले धोनीको जीवनसँग जोडिएका ठाउँमै गएर छायांकन गरेका छन्। यस फिल्ममा सुशान्तबाहेक कियारा आडवाणी, अनुपम खेर, भूमिका चावला, कुमुद मिश्रा, राजेश शर्मा, दिशा पटानी आदि मुख्य कलाकारको अभिनय छ।
क्रिकेटमा रूचि नभएका धोनी कसरी यसतर्फ आकर्षित हुन्छन् देखि चर्चित हेलिकप्टर सटको नामाकरणसम्मको कथा देखाइएको यो फिल्म व्यावसायिक रूपमा सफल बन्यो।
धोनीको घरपरिवार र रोमान्स कथा समेत देखाइएको यो फिल्मले क्रिकेट वा खेलकुद मनपर्ने र मन नपराउने दुवैखाले दर्शकलाई बाँधेर राख्छ।