लोक गायक तथा सर्जक पशुपति शर्माले अरूका सिर्जनामा गीत नगाउने भएका छन्।
यो वर्ष अरूको गीतमा स्वर नदिने निर्णय लिएको उनले बताए।
सेतोपाटीसँगको कुराकानीमा पशुपतिले भने, 'अघिल्ला केही वर्ष आफ्नोभन्दा बाहिरी धेरै गीत गाएको थिएँ। यो वर्ष अरूका गीत नगाउने भएको छु। बैशाखदेखि नै अरूका गीत गाएको छैन। जति हुन्छ आफ्नै सिर्जनामा गीत ल्याउनेछु।'
यसको कारणबारे उनले अगाडि भने, 'पहिले पनि मलाई आफ्नै गीत फापेको थियो। व्यवसायिक गायक भएपछि फेरि जस्तो पनि गीत गाउनुपर्यो। मेरो आफ्नै खालको पन र शैली छ। त्यो अरूको गीतमा अलि सुहाएन कि भन्ने पनि लाग्यो।'
कतिपयले उनकै लागि समेत गीत बनाउने गरेका छन्। पशुपतिले उनीहरू सबैसँग माफी समेत मागेका छन्। उनले अघिल्लो वर्ष अरूको सिर्जनामा गाएका केही गीत सार्वजनिक हुन् बाँकी छन्, ति गीतहरू भने यो वर्ष आउन सक्ने उनले बताए।
यसपालि अरूको सिर्जनामा पशुपतिले तीज गीत पनि गाउने छैनन्। आफ्नै सिर्जनामा केही तीज गीत ल्याउने तयारी गरेका छन्।
'तीज गीतको काम सुरू गरेको छु। आफ्नै सिर्जनामा २/३ वटा तीज गीत आउँछन् होला,' पशुपतिले भने।
उनी पछिल्लो समय 'झोले त तैं, झोले त मै' गीतका कारण थप चर्चामा छन्। 'मलाई अमेरिका यहीँ', 'लुटन सके लुट', 'क्रिकेट खेल्न जान्छु', 'फाटेको मन', 'मेरो माया बसेको गाउँमा' जस्ता पशुपतिका चर्चित गीतहरू उनकै सिर्जना हुन्।