'नेशनल म्युजिक अवार्डस् २०८१' यही असार २८ गते हुने भएको छ।
आम दर्शकलाई समेट्दै ३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा कार्यक्रम हुने भएको हो।
रेडियो कान्तिपुरले आयोजना गर्ने अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट पनि समावेश हुँदैछ।
कन्सर्टमा कुमः सागर, दुर्गेश थापासहित १० चर्चित युवा कलाकारहरूको प्रस्तुति रहनेछ। कुमः र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्मा लगायतले सांगीतिक प्रस्तुति दिँदा सुन्दर खनाल र सुजिता श्रेष्ठको हास्य प्रस्तुति रहने आयोजकले जनाएको छ।
कान्तिपुर टेलिभिजनका सीइओ सुरजसिंह ठकुरीले 'नेशनल म्युजिक अवार्ड' ले आफ्नो स्तर बढाउँदै यो पटक स्तरोन्नति गर्दै कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको जानकारी गराए।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'यो वर्षौदेखि हुँदै आएको कार्यक्रम हो। पुराना व्यक्तित्वको योगदान सम्झँदै उहाँहरूलाई दोसल्ला ओढाउँदै सम्मान दिँदै आएका हौं। पहिला हामी पाँचतारे होटलमा कार्यक्रम गर्दै, टेलिभिजनमार्फत दर्शकबीच पुग्दै आएका थियौं। तर, यो पटक दर्शक संगसंगै बसेर हामी कार्यक्रम गर्दैछौं। यो म्युजिकल नाइट्समा युवा कलाकारलाई स्थान दिँदै उहाँहरूको प्रस्तुतिमार्फत हामी संगै रमाउनेछौं।'
रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिइन्थ्यौं भने केही वर्षयताबाट कान्तिपुर बाहेकका क्षेत्रमा बजेका गीतलाई पनि अवार्डमा समावेश गराउँदै आएको बताए।
उनले भने, 'रेडियो कान्तिपुर मात्रै त्यस्तो रेडियो हो जसले गीत बजाए बापत स्रष्ठालाई रोयल्टी दिँदै आएका थियौं। त्यही रोयल्टी दिने क्रममा हामी कार्यक्रम आयोजना गथ्र्यौ। तर, अहिले रोयल्टी समाजले नै रोयल्टी लिन्छ। त्यसैले अहिले हामीले कान्तिपुरमा बजेका मात्रै होइन बाहिर बजेका गीतलाई पनि अवार्डमा समेट्छौं।'
उनले अपनत्व अनुभव गराउन टिकट राखेको समेत बताए। 'संगीतका मूर्धन्य व्यक्तित्वलाई उहाँहरूले संगीतमा गर्नुभएको जीवन लगानीको कदर स्वरूप पनि हामीले टिकट राखेका हौं', उनले भने।