वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ। शनिबार सम्पन्न 'नेसनल म्युजिक अवार्ड' मा बास्कोटालाई नगद एक लाखसहित सम्मान गरिएको हो।
रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड वितरणसँगै चर्चित कलाकारहरूले प्रस्तुति दिए। अवार्डतर्फ गायक आरसी रिमालले 'उत्कृष्ट नव गायक' को अवार्ड पाए।
'उत्कृष्ट लोकदोहोरी गायक' को अवार्ड प्रकाश दुतराजले पाए भने 'उत्कृष्ट लोकदोहोरी गायिका' को अवार्ड शान्तिश्री परियारले जितिन्।
'उत्कृष्ट गीतकार' को अवार्ड भूषण खरेलले पाए। 'उत्कृष्ट आधुनिक गायक' को अवार्ड शिव परियारले जिते भने 'उत्कृष्ट आधुनिक गायिका' को अवार्ड टिका प्रसाईंले पाइन्।
'उत्कृष्ट पाश्र्व गायक' को अवार्ड एसडी योगीले जिते भने 'उत्कृष्ट पाश्र्व गायिका' को अवार्ड समीक्षा अधिकारीले पाइन्।
सन्जीव बराइली 'उत्कृष्ट संगीतकार' घोषित भए। 'कुमः सागर एण्ड ख्वप' लाई 'उत्कृष्ट ब्यान्ड' को अवार्ड दिइयो। 'हिपहप, आर एण्ड बी' विधामा ब्रिजेश श्रेष्ठले अवार्ड जिते।
'उत्कृष्ट पप गायक' को अवार्ड सुशान्त केसीले जिते भने त्रिशला गुरूङ 'उत्कृष्ट पप गायिका' घोषित भइन्। सुशान्तले 'पिपुल च्वाइस अवार्ड' समेत पाए।
कार्यक्रमबीच 'कुमः सागर एण्ड ख्वप’ ब्याण्ड, दुर्गेश थापा, अस्मिता अधिकारी, सुरेश लामा, स्वप्न सुमन, पशुपति शर्मा, सुशान्त घिमिरे, सुन्दर खनाल, सुजाता श्रेष्ठ, ‘कार्टुन्ज क्रू’ लगायतले प्रस्तुति दिए।
दुर्गेश थापा 'रेडबुल इनर्जेटिक पर्फमेन्स' बाट सम्मानित समेत भएका थिए।


