गायक सुवास खत्री र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत 'शिरमा शिरबन्दी' यतिबेला चर्चामा छ।
सार्वजनिक भएको छोटो समयमै गीतले ३५ लाखभन्दा बढी भ्युज पाएको छ। टिकटकमा पनि यसका हुक-स्टेप र धुन ट्रेन्डिङ बनेका छन्। यसको लिरिकल भिडिओ यसअघि नै सार्वजनिक भई चर्चामा आएपछि अफिसियल भिडिओ ल्याइएको थियो। लिरिकल भिडिओले पनि छोटो समयमै लाखौं भ्युज पाएको थियो।
दर्शक–श्रोताबाट गीतलाई मिलेको उत्साहजनक प्रतिक्रियापछि गायक सुवासले खुसी साटे। गीतले अपेक्षाभन्दा बढी माया पाएको बताउँदै उनले भने, 'म सधैं नयाँ र फरक स्वादका गीतहरू सिर्जना गर्न रूचाउने मान्छे हुँ। आजकल धेरै गीतहरू एउटै फ्लेभरका सुनिन्छन्, त्यसैले म आफ्नो तर्फबाट केही फरक प्रस्तुति दिन प्रयासरत छु।'
गाउँघरका भजन, रत्यौली र पञ्चेबाजाका धुनमा हुर्किदै आएको अनुभवले संगीतप्रति आत्मीयता बनाएको सुवास बताउँछन्। सुरूको दिनमा परिवारकै प्रोत्साहनले आफू अघि बढ्न सकेको उनले बताए।
उनले भने, 'मसँग सुरूमा कुनै स्पोन्सर वा सहयोगी थिएनन्। मेरो दाइहरू सुजित खत्री र सुजन खत्रीको साथले गीत संगीतको यात्रा सुरू गरेको हुँ। आजसम्म मैले गाएका धेरै गीतहरू दाइ सुजित खत्रीले नै सिर्जना गर्नुभएको छ।'
दाजुभाइ मिलेर गीत सिर्जना र अडिओ-भिडिओ निर्माण गर्ने क्रमले अहिले आफ्नो यात्रा बलियो भएको गायक बताउँछन्।
सुवासको पहिलो आधिकारिक गीत 'भूल भयो' थियो।
त्यसपछि 'गाउँमा घर छ', 'ऐसेलुको काँडो', 'हिरोनी झैं चट्ट परेर', 'तिम्रै माया छ', 'रूँदै हिँड्नुपर्छ', 'जुनेली रातैमा', 'म त बाग्लुङ बिनामारेको', 'एक्लै रूनलाई' लगायतका गीत क्रमशः सार्वजनिक हुँदै आएका छन्। बीचमा आमाको आवाजमा ‘झोला बोकी जाऊ आमा नभने’ गीत पनि रेकर्ड गरिएको सुवासले बताए। उनका अनुसार 'शिरमा शिरबन्दी' अत्यन्त छोटो समयमै तयार पारिएको थियो।
'केही समयअघि हामीले '१ डे प्रोजेक्ट' भनेर एकै दिनमा शब्द, संगीत, एरेञ्ज, भोकल, मिक्सिङ-मास्टरिङ सबै पूरा गरी 'शिरमा शिरबन्दी' तयार पारेका थियौं। दर्शक–श्रोताबाट जुन अपार माया र समर्थन मिल्यो, त्यसले हामीलाई आश्चर्य र खुशी दुवै दियो। त्यसका लागि हार्दिक धन्यवाद,' सुवासले भने। हाल विदेशमा रहेका उनी संगीत क्षेत्रमा अझ व्यवसायिक ढंगले अघि बढ्ने सोच बनाएको बताउँछन्।
भिडिओ: