रंगमञ्च र फिल्मको पर्दामा आफ्नो जीवन्त अभिनयबाट दर्शकको मन जित्न सफल अभिनेता विजय बरालले गायनमा डेब्यु गरेका छन्।
उनको स्वरमा 'विधिको शासन' बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। उनको यो डेब्यु केवल मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विसंगति विरूद्धको एउटा बलियो 'ध्वनि' का रूपमा आएको छ।
शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको गीतले देशको समसामयिक राजनीतिक परिस्थितिलाई चित्रण गरेको छ। विशेषगरी भदौ २३ र २४ गते काठमाडौंमा भएको 'जेनजी' आन्दोलन र त्यसले उठाएका मुद्दाहरू गीतको मूल भावमा समेटिएका छन्।
देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ।
आफ्नो पहिलो गायन अनुभवबारे विजय बराल भन्छन्, 'मैले गाएको यो पहिलो गीत हो। वास्तवमा म गायक होइन, तर साथीहरूले 'तपाईंको स्वर यस विषयमा सुहाउँछ, गाउनुपर्छ' भनेर हौसला दिनुभयो। साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै मैले प्रयास गरेको हुँ।'
उनले थपे, 'यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन। यो केवल सत्ता र प्रणालीलाई गरिएको आलोचना तथा खबरदारी हो। देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो।'
मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडिओमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ।
भदौ २४ को आन्दोलनमा घाइते भएका र सहादत प्राप्त गरेका व्यक्तिहरूको सम्मान र बाँकी रहेका मागहरू सम्बोधन हुनुपर्ने कुरामा गीतले जोड दिएको छ।
अभिनेता विजय बरालको कामको कुरा गर्दा उनी हालै निर्देशक सरोज पौडेलको आगामी फिल्म 'सिन्दुरे जात्रा' मा अनुबन्ध भएका छन्। ब्लकबस्टर फिल्म 'पूर्णबहादुरको सारंगी' पछि सरोज र विजयले 'सिन्दुरे जात्रा' मा सहकार्य गर्न लागेका हुन्।