लोकगायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीको निधन भएको छ।
विगत केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ रहँदै आएका उनको मंगलबार साँझ निधन भएको हो।
गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनले आफू मर्माहत भएको उल्लेख गरेकी छन्। उनले कमलसँग गाएकामध्ये 'त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले' निकै लोकप्रिय बनेको समेत स्मरण गरेकी छन्।
दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्ज बस्दै आएका थिए। उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत रहेका छन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। उनका 'लाग्यो माया मोहनी नजरमा', 'पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल' लगायतका थुप्रै गीत चर्चित छन्।
उनले केही लोकपप र आधुनिक गीतमा समेत स्वर दिएका छन्।
कमल विके निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन्। करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको थियो।
निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।