युट्युबमा सबभन्दा धेरै हेरिएका नेपाली गीतहरूको सूचीमा 'कुटुमा कुटु' ले वर्षौदेखि पहिलो नम्बरमा स्थान बनाइरहेको छ।
युट्युबमा २३ करोड ५८ लाखभन्दा बढीपटक हेरिएको यो फिल्म 'दुई रूपैयाँ' को गीत हो। राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको गीत ८ वर्षअघि सार्वजनिक भएको थियो। भिडिओमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका छन्।
युट्युबमा धेरै हेरिने दोस्रो नम्बरमा 'रूकुम मैकोट' छ। एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको यो गीतले 'माया लुकी लुकी' लाई पछि पार्दै दोस्रो स्थान बनाएको हो।
फिल्म 'खुश्मा' मा समावेश 'रूकुम मैकोट' सार्वजनिक भएको निकै छोटो समयमै लोभलाग्दो भ्युजका साथ अगाडि आएको हो। २०८१ सालको भदौंमा रिलिज भएको यो गीतलाई हालसम्म १७ करोड १३ लाखभन्दा बढीपटक हेरिएको छ। यसको भिडिआमा फिल्मका कलाकार धीरज मगर र उपासना सिंह ठकुरीको नृत्य हेर्न सकिन्छ।
यसअघि धेरै हेरिने दोस्रो नम्बरमा रहेको 'माया लुकी लुकी' तेस्रो स्थानमा झरेको छ। टीका प्रसाइँको स्वर रहेको यो गीतलाई अहिलेसम्म १६ करोड ५१ लाखभन्दा बढीपटक हेरिएको छ। भिडिओमा कार्टुन क्रुका सरोज अधिकारी तथा आश्मा विश्वकर्मा फिचर्ड छन्। यो ७ वर्षअघि सार्वजनिक भएको थियो।
सूचीको चौथो नम्बरमा दुर्गेश थापाको गीत 'दुश्मन हेरेको हेर्यै' ले स्थान बनाएको छ। २०८१ सालको माघमा सार्वजनिक यो गीतले पनि निकै छोटो समयमा ठूलो सफलता हात पारेको हो। दुर्गेशसहित आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको गीतको भ्युज १६ करोड १० लाख पार भएको छ। यसको भिडिओमा दुर्गेश स्वयंका साथमा प्रियंका कार्की, कविता नेपालीलगायत फिचर्ड छन्।
पाँचौं स्थानमा 'साली मनपर्यो' गीत छ। कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीले स्वर दिएको यो फिल्म 'घामड शेरे' को गीत हो। यसको भिडिओमा स्वस्तिमा खड्का र निश्चल बस्नेतको नृत्य छ। भिडिओको भ्युज १५ करोड ९६ लाखभन्दा माथि छ। यो ६ वर्षअघि सार्वजनिक गीत हो।