गायक हेमन्त शर्माले आफ्नी श्रीमती रीतुको स्तन क्यान्सरको उपचार सफल भएको जानकारी दिएका छन्।
भदौ तेस्रो साता पत्ता लागेको क्यान्सरको उपचारको मुख्य चरण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा सफलतापूर्वक पूरा भएको हेमन्तले जानकारी दिएका हुन्। उपचारको मुख्य चरणमा आठवटा कीमोथेरापी सत्र, डबल मास्टेक्टोमी र १५ वटा रेडिएशन सत्र पूरा भएको उनले बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमामार्फत श्रीमतीको स्वास्थ्यअवस्थाबारे जानकारी दिँदै हेमन्तले चिकित्सक र शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्।
डा. सुदिप श्रेष्ठको नेतृत्वमा रहेको टिमले रीतुको उपचारमा राम्रो निगरानी र व्यवस्थापन गरेको हेमन्तले उल्लेख गरेका छन्।
हेमन्तका अनुसार प्रारम्भिक दिनमा धेरैले रीतुको उपचारका लागि तत्कालै दिल्ली जान सुझाएका थिए। 'यसै प्रकारको रोगका उपचारका निम्ति भारतीय सेलिब्रिटीहरूले भारतीय अस्पताललाई छाडेर दुबई तथा न्यूयोर्क गएको पनि निकै सुनिरहिएको हुन्थ्यो। मान्छेलाई वित्तिय विलासिताले पनि नजिकको तीर्थ भन्दा टाढाको तीर्थ प्यारो गराउँदोरहेछ’ भन्ने पनि लाग्यो,' हेमन्तले लेखेका छन्, 'साथसाथै पारिवारिक सल्लाह, नेपालमा स्तन क्यान्सर उपचारको राम्रो सुविधाको विश्वास, आफ्ना आन्तरिक सबै कुरा मध्यनजर गरेर हामीले उपचारका लागि आफ्नै देश नेपाल नै रोज्यौ।'
छ महिनाभरि करिब ८० पटक अस्पताल पुग्नु परेको यस अवधिमा अन्य बिरामीहरूसँग पनि चिनजान बढेको र सम्झनायोग्य अनुभवहरू संगालेको हेमन्तले बताएका छन्।
स्वभाविक शारीरिक असुविधा, बेलाबेला हस्पिटलको फलोअप, वर्षौ औषधी सेवन गर्नुपर्ने अवस्थाका बावजूद अहिले रीतुले आफूलाई निको भएको अनुभव गरिरहेको हेमन्तले बताएका छन्।