लोकगायक प्रकाश दुतराजले 'मनमाया' बोलको गीत सार्वजनिक गरेका छन्। शुक्रबार सार्वजनिक गीतमा यसपटक उनले वाद्यवादनमा चर्चित ब्याण्ड कुटुम्बसँग सहकार्य गरेका छन्।
लोक-फ्युजन शैलीको गीतले प्रेम कथालाई प्रस्तुत गरेको छ भने भिडिओमा नेवा: संस्कृति, परम्परागत भेषभुषा र पुराना बस्तीको झल्को समेटिएको छ।
गीतमा स्वर प्रकाश र मेलिना राईको छ। यसको शब्द र संगीत प्रकाश दुतराजकै हो भने गीतको संगीत संयोजन सुदिप सागरले गरेका छन्।
कुटुम्ब ब्याण्डका राजु महर्जन, रूबिन कुमार श्रेष्ठ र किरण महर्जनले वाद्यवादनमा योगदान दिएका छन्।
भिडिओमा प्रकाश स्वयंका साथमा मोडल प्रशंशा रायमाझीको अभिनय तथा नृत्य हेर्न सकिन्छ।
गीत सार्वजनिक गर्दै प्रकाशले भनेका छन्– 'यो गीतमा देखाइएको केही दृश्यहरू, भेषभूषाहरू ऐतिहासिक सम्पदा र सभ्यताका निर्माता तथा परापूर्व कालदेखि नेपाली माटो, कला संस्कृतिहरूमा योगदान पुर्याउँदै आएका नेवाः संस्कृति तथा समुदायसँग आधारित छन्।'
भिडिओ नवीन घर्ती मगरको निर्देशनमा बनेको हो। मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओमा अनिल के. मानन्धरको छायांकन छ भने सम्पादन निर्देशक नवीनकै हो।
सार्वजनिक 'मनमाया' गीतले स्रोता तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। प्रकाशले नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक गरेका हुन्।