गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर'शालामा दार्जिलिङका चर्चित गायक तथा संगीतकार पवन गोले र रमेश गुरूङको सांगीतिक शृंखला 'पलेँटी' सम्पन्न भएको छ।
यसपटकको पलेँटीमा गायक पवन गोलेले नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरेका थिए। विभिन्न संगीतकारका धुन समेटिएको सो कार्यक्रममा आठवटा गीतमा भने संगीतकार रमेश गुरूङका एकल धुन रहेका थिए।
कार्यक्रममा प्रस्तुति दिने क्रममा पवनले आजभन्दा १४ वर्षअघि पहिलो पटक पलेँटीमा प्रस्तुत भएको स्मरण गरे। संगीतकार रमेश गुरूङ पनि आजभन्दा २० वर्ष पहिले पलेँटीसँग जोडिएका कलाकार हुन्। सन् २००६ मा उनले अग्रज कण्ठशिल्पी दावा ग्याल्मोलाई हार्मोनियममा साथ दिएर पलेँटी कसेका थिए।
कार्यक्रमको सुरूआत कवि तथा गीतकार दिनेश अधिकारीको शब्द र दिवंगत संगीतकार दिव्य खालिङको धुन रहेको गीत 'माटो मात्र देश होइन' बाट गरिएको थियो। उक्त गीतले सांस्कृतिक सिमाना देशको सीमाभन्दा बाहिरसम्म फैलिएको भाव व्यक्त गरेको थियो। सधैंझैं यसपालि पनि कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा गायक संगीतकार आभासले गरेका थिए। उनले कार्यक्रमलाई दुई चरणमा विभाजन गरेर प्रस्तुत गरेका थिए।
पहिलो चरणमा संगीतकार रमेश गुरूङले धुन भरेका गीतहरू प्रस्तुत गरिएका थिए। त्यस क्रममा गीतकार मधुकर बल, नरदेन रूम्बा, संजय बान्तवा, संजय बिष्ट, पुरन गिरी, कालुसिंह रनपहेली, जस योन्जन प्यासी, नगेन्द्र खड्का र जितेन्द्र बर्देवाका शब्दहरू समेटिएका थिए।
संगीतकार रमेश गुरूङले धुन भरेका आठवटा गीतमा शैलीको विविधता झल्कन्थ्यो। उनले नेपाली आधुनिक संगीतमा अपनाइने शास्त्रीय, लोक र समसामयिक तीनवटै शैलीलाई आफ्नो सृजनाको आधार बनाएको झल्को पाइन्थ्यो। कार्यक्रमको दोस्रो चरणमा पवन गोलेको स्वरमा रेकर्ड भएर लोकप्रिय बनेका गीतका साथै केही नयाँ गीत पनि प्रस्तुत गरेका थिए।
दोस्रो चरणको आरम्भमा पवन गोलेका पहिलो संगीतकार सुवर्ण लिम्बुका दुई धुनहरू समेटिएका थिए। 'छाडी जाने मायालु' बोलको गीतको प्रस्तुतिपछि गायक पवन गोलेले मुस्कुराउँदै जानकारी गराए– 'यो गीतको गीतकार ओम विक्रम बिष्ट दाइ हुनुहुन्छ है।'

दोस्रो चरणको अर्को प्रस्तुतिमा गीतकार अरूण तिवारीको ‘मलाई थाहा छैन’ बोलको गीत रहेको थियो। जुन गीतलाई पवनले केही दिन पहिलेमात्र संगीतकार सुवर्ण लिम्बुबाट प्राप्त गरेर सिकेको जानकारी गराए।
त्यस चरणमा प्रस्तुत भएका थप गीतहरूमा 'कहीँ तिमीलाई', 'कति संगालेँ', 'भत्किएको महल', 'कहाँ दिन खुल्छ' बोलका गीतहरू रहेका थिए। उल्लेखित गीतहरू क्रमशः नरदेन रुम्बा, अशोक गुरूङ, पारस गजमेर र प्रमोद स्नेहीले सृजना गरेका शब्दहरू हुन्। ती गीतमा बसन्त छेत्री, पवन गोले, पारस गजमेर र प्रदीप छेत्रीले संगीत भरेका थिए।
कार्यक्रमको समापन पवन गोलेको लोकप्रिय गीत 'हावासँगै बगुँ भन्छ' बाट गरिएको थियो। संगीतकार सुवर्ण लिम्बुले नै धुन भरेको यस गीतलाई अग्रज गीतकार शिवशंकर थापाले सिर्जना गरेका हुन्।
यसपालिको पलेँटीमा बाद्यवादनतर्फ हार्मोनियममा संगीतकार रमेश गुरूङ, किबोर्डमा सुनील सिंह नेपाली, बाँसुरीमा मिलन घिमिरे, ताल बाजाहरूमा मिलेश तण्डुकार र सुन्दरकुमार महर्जन, रिदम गिटारमा प्रवीण पुलामी मगर र बेस गिटारमा कृपेश लोहनीको साथ रहेको थियो।
आयोजकले आगामी महिनाको पलेँटीमा गीतकार शिवशंकर थापालाई निम्त्याइएको जानकारी दिएका छन्। शिवशंकर थापा प्रसिद्ध गायक दीप श्रेष्ठका प्रारम्भिक चरणका गीतकार हुन्। उनले रचेका गीतहरूमा 'भन्थी मेरी उनी', 'बिधुवालाई सिन्दूरको रहर' लगायत गीतहरू लोकप्रिय छन्।
आयोजकले आगामी पलेँटीको बुकिङ खुलिसकेको पनि जानकारी गराएका छन्। त्यसका लागि पलेँटीको आधिकारिक वेबसाइटमा प्रवेश गर्न सकिने बताइएको छ।