अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा नेपालयको 'आर'शालामा आयोजना हुँदै आएको सांगीतिक शृंखला ‘पलेंटी’मा यसपटक गायक विधान श्रेष्ठ प्रस्तुत हुने भएका छन्।
उनले यसअघि ९ वर्षअघि पनि यस मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
कालिकास्थानस्थित नेपालयको 'आर' शालामा हुने कार्यक्रमका लागि विधान अहिले पलेंटीका वाद्यवादकसँग नियमित अभ्यासमा व्यस्त छन्।
विधान श्रेष्ठ लोक तथा देशभक्तिपूर्ण गीतहरूका लागि परिचित गायक हुन्। सांगीतिक परिवारमा हुर्किएका विधानले सुनसरीका चर्चित संगीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा आफ्नो सांगीतिक व्यक्तित्व विकास गरेका हुन्। विजय श्रेष्ठले प्रसिद्ध गायक दीप श्रेष्ठका निम्ति पनि गीति सिर्जना गरेका छन्।
विधानको स्वरमा 'माछी मार्न जाऊँ न दाजै कालापानीमा', 'बुहारी झारझैं लजालु...', 'आज नाच्छे मेरी गौरी...', 'कान्छीको अल्लारे जोवन...' जस्ता थुप्रै लोकप्रिय गीत रहेका छन्।
'पलेंटीको मञ्चमा नौ वर्षपछि फेरि गाउन पाउँदा अत्यन्त खुसी लागेको छ। मैले सम्मान गर्ने धेरै अग्रज कलाकारहरूले यस मञ्चलाई गौरव लाग्दो बनाइसक्नु भएको छ। त्यसैले यो मञ्च मेरो निम्ति सांगीतिक मन्दिरजस्तै हो,' विधान भन्छन्, 'झण्डै तीन दशक लामो सांगीतिक यात्रामा यो कार्यक्रमले थप उचाइ दिने आशा लिएको छु।
पलेंटीका संयोजक संगीतकर्मी आभास भन्छन्– '९ वर्षपछि पलेंटीमा गाउन तयार रहेका विधान अहिले झन् परिपक्व र परिमार्जित सुनिन्छन्। विधानका गीतहरूमा मौलिकताको छुट्टै पहिचान छ। पलेंटीमा विधानलाई फेरि निम्त्याउन पाउँदा रमाइलो लागेको छ।'
पलेंटी नेपालयद्वारा आयोजित एउटा लघु र विशिष्ट सांगीतिक शृंखला हो, जहाँ गायक, संगीतकार र रचनाकारहरू स्रोतासँग निकटतम रहेर प्रस्तुत हुने गर्छन्। नेपाली आधुनिक संगीलाई पुनर्जीवित गर्ने तथा कलाकार र श्रोताबीचको दूरी कम गर्ने उद्देश्यले पलेंटी २१ वर्षदेखि आयोजना हुँदै आएको छ। यसपटकको पलेँटी जुन २६ र २७ तारिख शुक्रबार र शनिबार साँझ कालिकास्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ।
कार्यक्रमको टिकट अनलाइनमार्फत प्राप्त गर्न सकिने जनाइएको छ। युवा पुस्ताको पहुँच सहज बनाउन विद्यार्थी सहुलियत कोटाअन्तर्गत पनि टिकट उपलब्ध गराइएको आयोजकले जनाएको छ।
कार्यक्रमस्थलमा उपस्थित हुन नसक्ने सांगीतिक पारखीका लागि प्रत्यक्ष ‘लाइभ स्ट्रिमिङ’को व्यवस्था पनि गरिएको छ। अनलाइन पहुँच खरिद गरी प्राप्त हुने लिंकमार्फत विश्वका विभिन्न स्थानबाट समेत पलेंटीको प्रत्यक्ष आनन्द लिन सकिने आयोजकले जानकारी दिएको छ।