काठमाडौंस्थित नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ।
आफ्ना छोरा यमन श्रेष्ठका साथ गाउने तयारीमा रहेका मदनकृष्णले आजभन्दा १८ वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए।
अंग्रेजी महिनाको सप्ताहन्तमा हुँदै आएको पलेँटीमा यसपालिको कार्यक्रममा मदनकृष्णले आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन्। उनले गाएका ‘अरबौं मान्छेहरूमा’, ‘खोलावारी खोलापारी’, ‘फुलबुट्टे सारी’, ‘सयथरी बाजा’ लगायत गीतहरूले लोकप्रियताको शिखर चुमेका छन्।
विशेषगरी हास्यव्यंग्य कलाकारिताबाट आफ्ना सहयात्री हरिवंश आचार्यका साथ स्थापित बनेका मदनकृष्णको प्रारम्भिक कलाकारिता गायनबाटै सुरू भएको थियो। प्रारम्भिक चरणमा उनले रेडियो नेपालका साथै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीति सिर्जनाहरू प्रस्तुत गरेका थिए।
पछिल्लो चरणमा स्वास्थ्यमा प्रतिकूलता रहँदा रहँदै पनि उनी फिल्मी जगतका साथै सांगीतिक जगतमा समेत उत्तिकै सक्रिय रहेका छन्। मदनकृष्णले केही समय अघि रेकर्ड गरेको गीत ‘बिर्सिँदे भन्छौ मायालु’, ‘पहाड भो मलाई’ शीर्षकका गीतहरू पनि श्रोता, दर्शकले उत्तिकै रूचाएका गीतहरूमा पर्छन्।
यसपालिको पलेँटीमा थप आकर्षण गायक यमन श्रेष्ठको रहनेछ। उनी आफ्ना अभिभावक मदनकृष्णकै पथप्रदर्शनमा अघि बढिरहेका कलाकार हुन्। यमन हास्यव्यंगात्मक अभिनयका साथै गायन र संगीतमा पनि लागिपरेका कलाकार हुन्। उनी व्यंगात्मक शैलीका साथै गम्भीर प्रकृतिका गीत पनि गाउन रूचाउँछन्।
यमनले गाएका गीतहरूमा ‘यो मन बदल्न चाहन्न’, ‘जिन्दगीमा सायद मैले’, ‘नौलो बस्ती देखे जहाँ’, ‘मान्छेले किन मान्छेलाई मार्छ’ लगायत छन्। यमन आफूले गाउने गीतहरूका अधिकांश शब्दहरूमा आफै धुन भर्ने गर्दछन्।
पलेँटी टिमसँग अभ्यासरत मदनकृष्ण विगतको सम्झना गर्दै भन्छन्- ‘१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ। खुब रमाइलो लागेको थियो। यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु। झन् रमाइलो हुनेछ भन्ने आशा छ। श्रोता, दर्शकले त सधैँ नै मन पराइरहनु भएकै छ। यसपाली झन् मन पराउनु हुनेछ भन्नेमा ढुक्क छु।’
आफ्ना बाको प्रतिक्रिया सुनेर मुस्काइरहेका छोरा यमनको प्रतिक्रिया थियो- ‘पलेँटीको रिहर्सल त यति रमाइलो छ; कार्यक्रम त झन रमाइलो हुन्छ नै हुन्छ।’ सधैँ हाँस्न रूचाउने उनी हाँस्दै प्रतिक्रिया व्यक्त गर्छन्।
पलेँटी कार्यक्रम यही जुलाई महिनाको ३१ तारिख शुक्रबार र अगस्ट महिनाको १ तारिख शनिबारका दिन आयोजना हुनेछ।
कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने यस कार्यक्रमलाई घरमै बसेर लाइभ पनि हेर्न सकिने जनाइएको छ।