निर्माता तथा गीतकार अविरल थापाले तीजलाई लक्षित गर्दै गीत 'दिक्क लाईसक्यो' सार्वजनिक गरेका छन्।
'बुलबुल' र 'भूठान' फिल्मका निर्माता थापाले यसअघि 'साँघुरो' जस्ता फिल्मका लागि पनि गीत लेखेका थिए।
अविरलको शब्द रहेको 'दिक्क लाईसक्यो' गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता विकको स्वर छ। संगीत किरण भुसालले दिएका छन्।
गीतको भिडिओ हाल छायांकनमा रहेको फिल्म 'जुबा'की लेखक वर्षा पौडेलले निर्देशन गरेकी हुन्।
भिडिओमा नेपालमा सम्भवतः पहिलो पटक 'एज रिभर्सड कास्टिङ' शैली प्रयोग गरिएको छ। जसमा वयस्क महिलाको भूमिकामा बालिकाहरूलाई अभिनय गराइएको छ। नेपा डान्स एकेडेमीका १६ जना बालिकाले भिडिओमा नृत्य गरेका छन्। भिडिओमा कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन्।
गीतले विभिन्न पेशामा संलग्न श्रीमानप्रति श्रीमतीहरूले गर्ने गुनासा र उनीहरूको मनोदशालाई व्यंग्यात्मक तथा ठट्यौलो शैलीमा प्रस्तुत गरेको छ। जग्गा व्यवसाय, पत्रकारिता, वैदेशिक रोजगारी, सरकारी जागिर, आर्मी, फिल्म निर्माणलगायत विभिन्न पेशाका पात्रहरू गीतमा समेटिएका छन्।
निर्माता थापाका अनुसार पछिल्लो समयका महिलाका अनुभव, समस्या र बदलिँदो सामाजिक परिवेशलाई केन्द्रमा राखेर नाच्न मिल्ने रमाइलो गीत बनाउने प्रयास गरिएको हो। गीत देवाश्री फिल्म्सको युट्युब च्यानलमा उपलब्ध छ। यसको भिडिओको छायांकन सेलिना घिमिरे र सम्पादन सुनिल शिवभक्तिको हो।
निर्माता तथा गीतकार अविरल थापा हाल नयाँ फिल्मको तयारीमा पनि छन्। केही समयअघि उनले नयाँ नायिकाको खोजीका लागि अडिसन आह्वान गरेका थिए।