थारू समुदायको परम्परागत मौलिक झुमरा लोकगीतमा आधारित म्युजिक भिडिओ 'जबुनिक रूखवा' सार्वजनिक भएको छ।
लालता चौधरी र सोमती थारूको स्वर रहेको गीत 'कर्खा चर्खा' युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
निर्माणपक्षका अनुसार गीत थारू झुमराको एक रूप ‘रटनचवा’मा आधारित छ। गीतमा 'पलंग'लाई महत्वपूर्ण विम्बका रूपमा प्रयोग गरिएको छ।
जामुनको काठबाट पलंग बनाउने आकांक्षामार्फत श्रम, विश्राम, सुख र पारिवारिक जीवनको चाहनालाई गीतले जोडेको निर्माण पक्षले जनाएको छ।
गीतमा आरके थारू, आरजु चौधरी, अञ्जु चौधरी र उर्मिला गम्वा थारूले पनि कोरस स्वर दिएका छन्। उज्ज्वल सागरले संगीत निर्देशन गरेको गीतको ध्वनि संयोजन मञ्जिल बिक्रम केसीले गरेका हुन्।
भिडिओको छायांकन लवकान्त चौधरी, दीर्घ चौधरी र न्यूराज चौधरीले गरेका छन्। सुनिल चौधरीको नृत्य निर्देशन रहेको भिडिओ 'कर्खा चर्खा'ले निर्माण गरेको हो। त्यस्तै निर्माण व्यवस्थापन छविलाल कोपिलाले गरेका हुन्।
भिडिओमा थारू समुदायको मौलिक भेषभूषा, नृत्य र सांस्कृतिक परिवेशलाई समेटिएको छ।