मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ।
नयाँ शृंखलाअन्तर्गत उक्त निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिए।
कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिँदै तयार गरिएका ती नाटकहरू आगामी साउनदेखि एक वर्ष मञ्चन हुने नाटकघरले जनाएको छ।
'हामीले आफ्ना अग्रजबाट सिकेको सिकाइलाई नयाँपुस्तामा हस्तान्तरण गर्दैछौं, त्यसैको एउटा प्रक्रिया पनि हो। हामीले घोषणा गरेको निर्देशकमा नयाँ पनि हुनुहुन्छ। छनोट भएका निर्देशकहरूबाट दर्शकले पारिवारिक, प्रयोगात्मक, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटक हेर्न पाउनुहुनेछ,'- अध्यक्ष राईले भने।
घोषणा गरिएका निर्देशकहरूमा मण्डला नाटकघरको आन्तरिक समूहबाट निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी छन्।
यस्तै, आमन्त्रित निर्देशकहरूमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, संगीता थापामगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामी छन्। अध्यक्ष राईले यसवर्ष अनुप बराल र किरण चाम्लिङ राईका नाटकहरू पनि मण्डलामा मञ्चन हुने जानकारी दिए।
यसका साथै मण्डलाले टिकटको मूल्य पनि बढाएको छ। जसअनुसार नाटक मञ्चनको पहिलो साता विद्यार्थीका लागि ३ सय रूपैयाँ र सामान्य दर्शकका लागि ५ सय रूपैयाँ टिकट शुल्क तोकिएको छ। त्यस्तै, अन्तिम दुई हप्ताका लागि विद्यार्थीले ५ सय रूपैयाँ र सामान्य दर्शकले १ हजार रूपैयाँ तिरेर नाटक हेर्न सक्नेछन्।
नयाँ टिकट शुल्क निर्धारण गर्नुको कारणबारे अध्यक्ष राईले अन्तर्राष्ट्रिय प्रचलन, नाटकघरको दिगोपन र दर्शकलाई सुरुमै नाटक हेर्न बानी बसाल्नु रहेको बताए।
'हामीले झन्डै छ वर्षदेखि शुल्क बढाएका छैनौं। यो भइरहेको मूल्यवृद्धिका कारण हो। यसले हामीलाई उक्त शुल्क बराबरको नाटक मञ्चन गर्नुपर्ने दायित्व पनि थपेको छ। हाम्रो आयस्रोत टिकटकै रकम भएकाले हामीले अझैं मेहनत गर्नु जरूरी छ', अध्यक्ष राईले स्पष्ट पारे।
उक्त शृङ्खलाअन्तर्गत आगामी जेठदेखि सोमनाथ खनालको निर्देशनमा तयार हुँदै गरेको नाटक मञ्चन हुनेछ, जसमा अभिनेता सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, शुशाङ्क मैनाली लगायतले अभिनय गर्नेछन्।
हाल उक्त नाटकको अभ्यास चलिरहेको छ।