नाटक 'लाहुरी भैंसी' काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने भएको छ।
नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको यो नाटक यही जेठ २२ गतेदेखि मञ्चन हुन लागेको हो।
प्रसिद्ध कथाकार रमेश विकलको चर्चित कथामा आधारित यस नाटकलाई संयोग गुरागाईंले नाट्य रूपान्तरण गरेका छन् भने निर्देशक अनुप न्यौपाने हुन्। ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो।
नाटकले ग्रामीण परिवेशमा बस्ने लुखुरे, घैंटी र पोडेको परिवारले भैंसी किनेर जीवन सुधार्ने सपना देख्दा भोग्नुपर्ने सामाजिक, आर्थिक तथा वर्गीय विभेदका चुनौतीहरूलाई प्रस्तुत गरेको छ। द्वारेबाको प्रभुत्व, गरिब किसानको विवशता, ऋणको बोझ र गाउँको सामाजिक मानसिकतालाई नाटकले यथार्थपरक ढंगले चित्रण गरेको निर्माण पक्षले जनाएको छ।
निर्देशक अनुप न्यौपानेले भने, 'समयले बाँच्ने त कथा नै हो। 'लाहुरी भैंसी' हाम्रो समाज र समयको ऐना हो, जसले सपना, गरिबी, शक्ति र निराशाको चक्रलाई रंगमञ्चमार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने प्रयास गरेको छ।'
'लाहुरी भैंसी' असार ७ गतेसम्म मञ्चन हुनेछ।
हरेक दिन साँझ ५ः३० बजे तथा शनिबार अतिरिक्त शो दिउँसो १ः३० बजे मञ्चन हुने जनाइएको छ।