विवादका कारण बीचमै रोकिएको नाटक 'लुसिफर राइजिङ: अ जेन-जेड प्ले' आजदेखि पुनः मञ्चन हुने भएको छ।
थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहँदा रोकिएको नाटक मंगलबारदेखि पुनः मञ्चन हुन लागेको हो।
एक थिएटर नेपाल र निर्माता संस्था मझुवा बगर जनकला मञ्चबीच नयाँ सहमति भएपछि मञ्चनको बाटो खुलेको हो। एक थिएटर नेपालले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।
जेठ १ गतेदेखि मञ्चन सुरू भएको नाटक राजनीतिक दबाबको कारण देखाउँदै जेठ ११ गतेदेखि रोकिएको थियो।
एक थिएटर नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा नाटकका लेखक तथा निर्देशक सहलेशले मञ्चन रोक्न दबाब र धम्की आएको दाबी गरे पनि त्यसको प्रमाण पेश गर्न नसकेको उल्लेख गरेको छ। संस्थाले उक्त घटनाले रंगमञ्च क्षेत्रको छवि प्रभावित भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'लुसिफर राइजिङः ए जेन-जेड प्ले'का लेखक तथा निर्देशकले 'कुनै दबाब वा धम्कीका कारण नभई आन्तरिक वा अन्य उद्देश्यले नाटकको मञ्चन एकलौटी रूपमा रोक्नुभएको हो' भन्ने हाम्रो निष्कर्ष रहेको छ।'
नाटकको निर्माता मझुवा बगर जनकला मञ्चले लेखक तथा निर्देशक सहलेशलाई 'सरकारविरूद्ध अफवाह फैलाएको', 'सम्पूर्ण नाट्य समुदायको अपमान गरेको'लगायत कारण देखाउँदै हालको लागि नाटकबाट बर्खास्त गरिएको लिखित पत्र आफूसमक्ष पेश गरेको समेत एक थिएटरले जनाएको छ।
एक थिएटर नेपालका अध्यक्ष अनिल सुब्बाका अनुसार निर्माता पक्ष, कलाकार र सम्बन्धित पक्षबीचको छलफलपछि नाटकलाई निर्माण संस्थाले स्वीकृत गरेको स्क्रिप्टअनुसार पुनः प्रदर्शन गर्ने सहमति भएको हो। यससँगै नाटक मञ्चनका लागि नाटकघर उपलब्ध गराउने विषयमा पनि नयाँ समझदारी भएको जनाइएको छ।
केही दिनअघि यो नाटकको मञ्चन रोकिएपछि उत्पन्न विवादले रंगमञ्चवृत्तमा व्यापक बहस सिर्जना गरेको थियो।
अब भने सहमतिपछि नाटक मंंगलबार बेलुकादेखि नियमित रूपमा दर्शकमाझ प्रस्तुत हुने भएको छ। नाटक जेठ ३० गतेसम्म मञ्चन हुने जनाइएको छ।