प्यारी बहिनी निर्मला,
भौतिक रूपमा तिमी यो संसारमा छैनौ र पनि आज एउटा पत्र लेख्दैछु, तिम्रा लागि, तिम्रो मृतात्माको लागि। थाहा छ, तिमी यो पत्र न पढ्न पाउनेछौ न देख्न नै। तै पनि तिमीलाई न्याय दिन आज हजारौं निर्मलाहरू सडकमा आएको घटनामाथि केन्द्रीत भएर यो पत्र लेख्न खोज्दैछु।
भौतिक रूपमा तिमी यो संसारमा भएकी भए आज तिम्रा साथीहरूसँग स्कुलमा खेलिरहेकी हुन्थ्यौ, होमवर्क गरिरहेकी हुन्थ्यौ, स्कुलस्तरीय प्रतियोगिताहरूमा भाग लिइरहेकी हुन्थ्यौ। अझ नजिकिँदै गरेको गौरा र तीजमा दिदीबहिनीहरूसँग छमछमी नाचिरहेकी हुन्थ्यौ, रमाइलो गरिरहेकी हुन्थ्यौ।
तर अपशोच!
फगत ती सबै कल्पनामा सीमित भए। तिम्रो कलिलो बालापन कोपिलामै निमोठियो, पापीहरूले तिमीलाई जबरजस्ती मात्रै गरेनन्, तिम्रो ज्यान लिएरै छाडे र नजिकैको उखुबारीमा फ्याकिदिए। तिमी यो संसारबाट सदाका लागि बिदा भयौ कहिल्यै नफर्किने गरी, कहिल्यै नभेटिने गरी। तिमी हराएको खबर पाउनासाथ प्रहरीले तदारुकता नदेखाउनु र अझ अनुसन्धानलाई नै मोड्न खोज्नुले तिम्रा लागि न रह्यो सरकार र भयो गतिलो अनुसन्धानको स्थिति सिर्जना भएको छ। सुरूमै गम्भीरताका साथ अनुसन्धान भएको भए आज यो भयावह परिस्थिति आउने थिएन।
प्यारी बहिनी निर्मला,
म सोध्न चाहन्छु, ती पापी हत्याराहरूलाई, सरकारलाई, विधायकलाई र प्रहरी प्रशासनलाई, आखिर तिम्रो के गल्ती थियो ? थाहा छ बैनी, तिम्रो हत्यापछि महेन्द्रनगरवासीले के गरेनन्, ती पापीहरूलाई कारबाही गर अनि तिमीलाई न्याय दे भनेर। तिम्रा साथीहरू ती पापीहरूलाई कारबाही गर भन्दै स्कुल ड्रेसमै प्लेकार्डसहित आन्दोलनमा होमिएको, त्यतिमात्रै होइन,आज तिम्रै न्यायका लागि हजारौं आमा–बुवा, दिदीबहिनी, दाजुभाइहरू सडकमा आएका छन्। तिमीलाई न्याय दिलाउने आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाए, अझै अर्जुन भण्डारी, चेतन भट्टसहित दजनौं घाइते छन् र अस्पतालको बेडबाट भन्दैछन्, निर्मला बहिनीलाई न्याय देऊ।
तिमीमाथि अत्याचार गरी तिम्रो ज्यान लिएको पनि आज १ महिना ५ दिन भैसकेको छ तर नेपाल सरकार उक्त पासविक घटनाको वास्तविक अपराधी पत्ता लगाई तिम्रो ज्यान लिनेहरूमाथि हदैसम्मको कारबाही गरेर तिमीलाई न्याय दिलाउन सक्छ कि सक्दैन भन्ने कुरामा आम जनसमुदाय विश्वस्त हुन सकिरहेको छैन।
अझ तिम्रा सहपाठीहरू जानकी भट्ट, निर्मला जोशी, लक्ष्मी बडू, पूजा चन्दले त हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई पत्र पनि लेखेका छन् ।
बहिनी,
एउटी आमा र बुवाको दुःख गरी हुर्काएकी छोरीको भविष्य देखेर गरिने चिन्ता, आशा र अपेक्षा पक्कै पनि अद्धितीय हुन्छ।
तिमी त किताब बोकेर साथीको घरमा गृहकार्य गर्न गएकी थियौ होइन र ? तिमी र तिमीजस्तै लाखौं प्यारा बहिनीहरूले अब साथीको घरमा गएर खेल्न र गृहकार्य गर्न पनि नपाउनु ? देश छ, सरकार छ, अझ अहिले त पहिले जस्तो एउटामात्रै होइन, प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकार गरी ३/३ वटा सरकार छ, प्रहरी छ तै पनि तिमीमाथि दिनदहाडै त्यत्रौ अत्याचार ? र खोजीदिन आग्रह गर्दा पनि कत्रो हेलचेक्य्राईं ?
तिमी साँझसम्म घर नआउँदा आमा तिमीलाई खोज्न कहाँ–कहाँ जानुभएन होला ? पक्कै पनि एउटी आमाले आफ्नो प्राणप्रिय छोरी खोज्न तिम्रा सबै साथीभाइ, आफन्त, छरछिमेक, खेतबारी सबैतिर खोज्नुभयो तै पनि तिमी नभेटिएपछि ठूलो आश बोकेर नजिकैको वडा प्रहरी कार्यालयमा धाउनुभयो।
बहिनी,
आमाको आश त त्यतिबेला मर्यो जतिबेला सबैतिर खोजेर पनि नभेटिँदा आशा र भरोसको एउटै केन्द्र प्रहरीले समेत ‘अहिले राति भयो भोलि खोजौंला’ भन्ने जवाफ दियो अरे। कस्तो प्रहरी जसले देश र जनताको सेवा गर्छु भनेर हाम्रै करबाट तलब भत्ता खाइरहेको छ, त्यही प्रहरी हाम्रो पीडामा मजाक गर्ने ?
सारा संसार छोरी खोज्दा पनि नभेटेपछि आमाको मन डराइसकेको थियो, तै पनि राति २ बजेसम्म एक्लै खोज्नुभयो, तिमी भेट्ने आशै–आशमा, तर तिमी भेटिएनौ । भेटिन्थ्यौ पो कसरी, तिमी त यो संसारमा थिएनौ, पापी, दुष्टहरूले अत्याचार गरी आफ्नो कुकृत्य बाहिर आउने देखेपछि ज्यान लिइसकेका थिए। एउटी आमा छोरी खोज्दा नभेटेपछि मध्यरात लखतरान घर आइन्, झिनो आशा मात्रै थियो तिमी भेटिन्छौ भन्ने।
भोलिपल्ट कसैले उखुबारी नजिकै तिम्रो साइकल देख्यो, खोज्दै जाँदा त्यही अलि पर तिम्रो मृत शरीर। छोरी खोज्दै लखतरन् एउटी आमाका लागि यो भन्दा ठूलो बज्रपात के हुन सक्थ्यो र?
बिहान विक्षिप्त अवस्थामा तिम्रो लाश भटियो, प्रहरीहरू आए।
प्यारी बहिनी,
ती तिनै प्रहरी थिए जो अघिल्लो राति आमाको चित्कार, अनुनय–विनयलाई हाँसीमजाकमा उडाउँदै भोलि खोजौंला भन्दैथे। जब स्थानीयले तिम्रो शव भेटे, तब ठूलै बाजी मारेझैं गरिरहेका थिए। प्रहरीले मुचुल्का उठाए, अनुसन्धान गरे तर त्यो अनुसन्धान थिएन अनुसन्धानको अभिनय थियो । अभिनय यस कारण कि तिम्रो खोजी वा अनुसन्धान हुन्थ्यो भने अघिल्लो राति एउटा बेसहारा आमाको चित्कार, अनुनयको बेला हुन्थ्यो, त्यतिबेलै प्रहरीले तत्परता देखाएको भए तिमी फेला पर्न सक्थ्यौ कि ? कम्तीमा अपराधी त उम्कन पाउने थिएन।
बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि अधिकारकर्मी, नागरिक समाज, विद्यार्थी संगठन सबैले हत्यारालाई कारबाहीको माग गर्दै दबाब दिए, आन्दोलन गरे। हत्यारालाई हदैसम्मको कारबाही नगरिएसम्म लास नबुझ्ने स्थानीय अधिकारकर्मी, नागरिक समाजले अडान लिए तर त्यो दबाब, रिले अनशन र आन्दोलनले खासै प्रभाव पारेन, लाश बुझेर अन्तिम संस्कार गरियो।
प्यारी बहिनी,
हत्या भएको धेरै दिन बितिसक्दा पनि अनुसन्धानमा खासै प्रगति नभएको देखिएपछि कञ्जनपुरका स्थानीय, अधिकारकर्मी, विद्यार्थी, नागरिक समाजलगायत सबैले रिले अनशन, विज्ञप्ति, विरोधस्वरूप विद्यालय बन्द गराएर दबाब दिइरहे।
त्यति गर्दा पनि अनुसन्धानमा प्रहरी सक्रियता खासै देखिएन। पीडित पक्षले शंका गरिएका व्यक्तिहरूमाथि अनुसन्धान होस् भन्दा खासै चासो दिइएन। जब घटनाको २५ औं दिन एकजना हत्या अभियोगमा सजाय भोगिसकेका मानसिक अवस्था ठीक नभएको भनिएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो, त्यसपछि कञ्चनपुरका सारा जनता, अधिकारकर्मी, नागरिक समाज सबै सडकमा आउन बाध्य भए।
वास्तविक आरोपीमाथि अनुसन्धान गर्न आग्रह गर्दा पनि प्रहरीले त्यसतर्फ कुनै ध्यान नदिएको, उनीहरूलाई पक्राउसम्म नगरेको तर मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई पक्राउ गरेपछि कञ्चनपुरवासीले वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलन चर्काए।
बहिनी,
तिम्रो वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै चर्किएको आन्दोलन गर्नेमाथि प्रहरीले गोली बर्सायो, एक जनाको त प्रहरीले ज्यान नै लियो भने कयौंलाई घाइते अपांग बनायो। तुक्क!, कस्तो देशमा जन्मिएछ बहिनी, जहाँ एउटा अबोध बालिकाको बलात्कारी र हत्यारालाई कारबाही गर भन्दै हजारौं भाइबहिनीहरू आन्दोलनमा होमिनुपर्ने र दबाब दिनेलाई उल्टै गोली हानेर मार्नुपर्ने ? यस्तो देशमा तिमीजस्ता हजारौं बहिनीहरूको सुरक्षाको जिम्मा यही प्रहरीले गर्नसक्ला ? बहिनी, अब त्यो फगत कल्पनामात्रै भएकोछ । एउटा बालिकामाथि अत्याचार गरी हत्या गर्ने हत्यारालाई कानूनी दायरामा ल्याउन माग गर्ने बालकलाई गोली हानेर मार्ने प्रहरीबाट जनताको जीउधनको सुरक्षा हुनेमा अब शंका उत्पन्न भइसकेको छ।
नेपाल प्रहरी कमजोर, असक्षम भएर होइन अपराधी पत्ता लगाउन ढिला भएकोमा म कम्तीमा विश्वस्त छैन। घटनालाई गम्भीरताका साथ नलिएका कारणमात्रै हालसम्म अपराधी कानूनको कठघरामा आउन नसकेको हो। अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वमै अब्बल मानिन्छ। सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रण बहादुर बमको हत्यारा होस् वा रानीबारीको विभत्स हत्याकाण्ड नै, नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल भएको प्रमाण हुन् यी ।
तिमीलाई न्याय दिलाउनका लागि आम कञ्चनपुरवासीहरू मर्न तयार भएपछि सरकारको ध्यानाकर्षण भएको छ, एउटा छानबिन समितिसमेत गठन गरिएको छ। गृहमन्त्रीले गम्भीरताका साथ यस घटनालाई लिएका छन्, संसदमा सयौंपटक तिमीलाई न्याय दिलाइनुपर्ने आवाज उठाइएको छ, अझ देशकै प्रधानमन्त्रीले समेत तिमीलाई न्याय दिलाउने प्रतिवद्धता जनाउनुभएको छ।
शंकित व्यक्तिहरूमाथि अनुसन्धानको अनुनय गर्दा पनि नसुन्ने प्रहरी अधिकारीहरू निलम्बनमा परेका छन्, उनीहरूले स्पष्टिकरण दिनुपर्ने भएको छ र ती प्रहरी साच्चिकै तिमीमिथी अत्याचार गरी हत्या गर्नेहरूलाई जोगाउन भूमिका खेलेको भेटिए उनीहरू कारबाहीको दायरामा आउनेनै छन्।
प्यारी बहिनी,
पीडित आमाबुवा, कञ्चनपुरको सिंगो नागरिक समाज, स्थानीयवासी, विद्यार्थी, अधिकारकर्मी, निर्मला बहिनीलाई न्याय दिलाउन आफ्नो ज्यानको बाजी राख्न तयार घाइते एवं सबै सरोकारवालाहरूलाई अब तिमीमाथि अत्याचार गर्दै हत्या गर्ने व्यक्ति उम्किन नसक्ने कुरा अवगत गराउन चाहन्छु । मुलुकी अपराध (संहिता) ऐन २०७४ कार्यान्वयनमा आइसकेपछि निसन्देहः ती अपराधी लाग्छन्, । यदि वास्तविक अपराधीलाई लुकाउन, अनुसन्धानमा गम्भीर लापरबाही गर्न खोजिन्छ भने त्यसको अनुसन्धानमा संलग्न अभियोजनकर्ता, अनुसन्धान अधिकारी एवं सम्बद्ध सबैमाथि फौजदारी अभियोगमा कारबाही गरिनेछ ।
प्यारी बहिनी,
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ९९ ले कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मा पाएको अधिकारी (सरकारी वकिल, नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू एवं सत्यतथ्य छानबिन समिति) ले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गरे वा अभियोग लगाए त्यस्तो व्यक्तिलाई छ महिनासम्म कैद र ५ हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
अझ त्यसरी अनुसन्धान वा अभियोजन गरेको कारण कुनै व्यक्तिलाई (पीडित परिवार) कुनै किसिमको हानी नोक्सानी भएमा निजले त्यस्तो अनुसन्धान वा अभियोजन गर्ने व्यक्तिबाट क्षतिपूर्ति भराई लिनसक्नेसम्मको कानूनी व्यवस्था रहेको छ। म यो कुरा अनुसन्धान अधिकृत, अभियोजनकर्ता एवं निर्मला पन्तको बलात्कारपछि हत्याको सत्यतथ्य छानबिन समितिलाई समेत अवगत गराउन चाहन्छु।
तसर्थ, नेपाल सरकारका सहसचिव, प्रहरी नायब महानिरीक्षकहरू सम्मिलित छानबिन समिति एवं सिआइबीको टोली समेतले घटनाको सत्यतथ्य बाहिर ल्याइ अपराधीहरूमाथि हदैसम्मको कारबाही गरी तिम्रा लागि न रह्यो सरकार न भयो गतिलो अनुसन्धानको परिस्थिति अन्त्य गरी देशमा सरकार भएको र तिमीजस्ता लाखौं बहिनीहरूले सुरक्षाको महशुस दिलाउनेछ भन्ने आशा लिएको छु।
उही तिम्रो दाइ
कृष्ण महरा