हाम्रा हिमालहरूले संसारभरका साहसिक पर्यटकलाई सधैँ आकृष्ट गरिरहेका छन्। तीमध्ये सगरमाथा, विश्वकै सर्वोच्च शिखर अझ विशेष हो। तर सगरमाथाको सुन्दरता अनुभव गर्न यात्राको पहिलो पाइला जहाँबाट सुरु हुन्छ, त्यो हो लुक्ला। लुक्लासम्म पुग्न हालको सन्दर्भमा सबैभन्दा व्यवहारिक, व्यवस्थित र पर्यटकमैत्री मार्ग बनेको छ, रामेछाप विमानस्थलमार्फत।
आज सगरमाथा यात्रा केवल शारीरिक साहसको परीक्षण होइन, समग्र नेपाली पर्यटनको शिरमाथिको पहिचान बनिसकेको छ। यस यात्रालाई सहज, स्मरणीय र व्यवस्थित बनाउन रामेछाप लुक्ला हवाई सेवा एउटा निर्णायक उपलब्धि साबित भएको छ।
उडान सिजन र पर्यटक आगमनका तथ्य र प्रभाव
सगरमाथा ट्रेकिङ सिजन वर्षमा दुई पटक चरम बिन्दुमा पुग्छ-
सिजन १- सेप्टेम्बरदेखि नोभेम्बरसम्म
सिजन २- मार्चदेखि मे सम्म
यी महिनाहरूमा लुक्ला क्षेत्रमा प्रतिदिन सरदर ६५० देखि ११५० पर्यटकहरू ओर्लने गरेका छन्। रामेछाप लुक्ला मार्गबाट मात्र दैनिक ३० देखि ४५ उडानहरू सञ्चालन हुने गरेका छन्।
यी उडानहरू समिट एयर, तारा एयर, र सिता एयर जस्ता आन्तरिक एयरलाइन्सद्वारा नियमित रूपमा सञ्चालित छन्। यिनीहरूले सिजनका पिक दिनहरूमा बिहान ६ बजेबाट सुरु गरेर दिउँसो १२ बजेसम्म लगातार उडानहरू गर्छन्।
सन् २०२४ को अक्टोबर १० मा मात्र रामेछाप लुक्ला मार्गबाट ६५० पर्यटकहरू लुक्ला पुगेका थिए। अर्को चरम दिन, अक्टोबर २० मा ११५५ पर्यटकहरू एकै दिन लुक्ला अवतरण गरेका थिए।
पर्यटक उडान तथ्याङ्क (दैनिक औसत)
सेप्टेम्बर नोभेम्बर: ९००+
मार्च मे: ७०० देखि ८५०
उडान सङ्ख्या (रामेछापदेखि लुक्ला): ३० देखि ७० प्रतिदिन
हेलिकप्टर उडानहरू (लुक्ला-बाउन्ड): १० देखि ३० प्रतिदिन
सडक, आकाश र सगरमाथा: एकीकृत पर्यटक अनुभव
काठमाडौँदेखि करिब पाँच घण्टाको रमणीय सडक यात्रापछि जब पर्यटक रामेछापको मन्थली विमानस्थल पुग्छन्, उनीहरूले सहरी भिडभाडबाट मुक्त भई नेपाली पहाडी जीवनशैलीको झल्को लिन थालिसकेका हुन्छन्। यही यात्रा सगरमाथा यात्राको पहिलो सांस्कृतिक प्रवेशद्वार हो।
यहाँको बिहान सुरु हुन्छ ट्याक्सीका आवाज होइन, मन्थली खोँचको बगिरहेको धाराको संगीतसँग। होटेलका झ्यालबाट देखिने घाम लागेको पहाड, परिकारमा ताजापन बोक्ने स्थानीय अन्न र स्थानीय समुदायको आत्मीयता यी सबैले पर्यटकको मन जित्ने गर्छन्।
पर्यटकले रामेछापमा केही समय बिताएर मात्र लुक्लातर्फको यात्रा अघि बढाउँदा उनीहरूले सगरमाथा यात्राको सांस्कृतिक भूमि नक्सा आफैँमा बोक्दै अघि बढ्छन्।
स्थानीय सम्पर्क, स्थानीय लाभ
रामेछाप लुक्ला उडानले सगरमाथा ट्रेकिङको ढोका त खोलेको छ नै, साथै यसले रामेछाप जिल्लाको स्थानीय अर्थतन्त्रमा पनि पर्यटनको सुनौलो प्रभा छरिरहेको छ।
स्थानीय होटेल, यातायात, पसलहरू, गाइड सेवा र होमस्टेहरूलाई यसले नियमित रोजगारी र आम्दानीको अवसर सिर्जना गरिदिएको छ।
पर्यटकहरूले प्रायः लुक्ला पुग्नुअघि कम्तीमा एक रात रामेछापमा बिताउने गर्छन्। यसले ‘सगरमाथा यात्राअघि सांस्कृतिक आराम’ को अवधारणा निर्माण गरिरहेको छ।
आज रामेछापका व्यवसायीहरू अंग्रेजी बोल्न थालेका छन्, क्युआर कोडमार्फत भुक्तानी लिँदै छन् र ट्रिपएडभाइजर, बुकिङ डटकम, गुगल रिभ्युजमा समीक्षाको पर्खाइमा छन्।
पूर्वाधार सकिएको, अब अनुभवमा ध्यान
नागरिक उड्डयन प्राधिकरण नेपालले रामेछाप विमानस्थलमा आवश्यक सबै संरचना निर्माण सम्पन्न गरिसकेको छ-
८ वटा फिक्स्ड विङ उडानहरू अटाउने एप्रन
नयाँ टर्मिनल भवन
यात्रु जाँचका लागि एक्स-रे प्रणाली
नियमित सुरक्षा निरीक्षण, एटिसी उपकरणहरू
अब हामी विमानस्थल होइन, पर्यटक अनुभव निर्माण गर्दै छौँ जहाँ ‘नेपाल यात्रा’को पहिलो छाप उच्च गुणस्तरीय होस्।
भविष्य: सांस्कृतिक गेटवेका रूपमा रामेछापको परिकल्पना
रामेछाप अब ट्रान्जिट बिन्दु मात्र होइन, एक सांस्कृतिक केन्द्रको सम्भावनामा विकसित हुँदै छ। तामाङ, मगर, ह्योल्मो जातिका मौलिक परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोड्ने तयारी भइरहेको छ।
नागरिक उड्डयन प्राधिकरण नेपाल र स्थानीय निकाय मिलेर-
होमस्टे प्रवर्द्धन
सांस्कृतिक ट्रेलहरू विकास
स्थानीय खानाको प्रमोसन
‘लुक्ला प्लस वान नाइट’ अभियान प्रवर्धन गरिरहेका छन्
योजना छ, प्रत्येक पर्यटकले रामेछापमा एक रात बिताओस् जहाँ उनीहरूले सस्तो होटेलमा तामाङ खाना खाउन्, साँझ गाउँघर घुम्न र भोलिपल्ट हिमालतर्फ उड्न सकुन्।
निष्कर्ष: सगरमाथाको यात्रा अब नेपाल बुझ्ने यात्रा हो
जब पर्यटक लुक्लातर्फ उड्छन् तब उनीहरूले केवल हिमाल हेर्न जानुहुँदैन, उनीहरूले नेपालको आत्मा बुझ्नुपर्छ। त्यो आत्मा रामेछापमै भेटिन्छ जहाँ बाटो, मानिस, संस्कार र परिदृश्यले यात्रालाई अझ गहिरो बनाउँछ।
रामेछाप लुक्ला उडान अब केवल एक मार्ग होइन। यो एउटा अनुभवको पुल हो जहाँ साहस, संस्कृति र सौन्दर्य एकसाथ हिँड्छन्।
नेपाल भ्रमण वर्षहरू सफल पार्ने हो भने हाम्रा मूल ढोका यस्ता रामेछापहरू नै हुन् जहाँ यात्रा सुरु हुन्छ र सम्झनाले कहिल्यै अन्त्य पाउँदैन।



(लेखक नागरिक उड्डयन प्राधिकरण नेपालका वरिष्ठ अधिकृत हुन्।)