क्यान्सर भन्ने शब्दले सायद कुनै पनि मानिसको मनमा यति गहिरो डर पैदा गर्छ, जुन शब्दको अर्थभन्दा धेरै पर जान्छ र सजिलै भन्न सकिन्छ कि यो केवल शारीरिक रोग होइन, एक मनोवैज्ञानिक कम्पन हो जसले जीवनको मूल आधार नै हल्लाइदिन्छ। क्यान्सर रोगको उपचार आजका दिनहरूमा सम्भव हुँदै गइरहेको छ। आधुनिक प्रविधि, किमोथेरापी, सर्जरी, रेडिएसनजस्ता विधिहरूले शरीरको क्यान्सरलाई नियन्त्रण गर्न सक्छन् तर, मनमा क्यान्सरको कारण उब्जिएको विकारहरूको उपचार भने अझै पनि हाम्रो जस्तो देशहरूमा उपेक्षित छ। यिनै मनोवैज्ञानिक पक्षलाई सम्बोधन गर्ने चिकित्सा विज्ञानको उदाउँदो विधा हो- साइको-अन्कोलोजी।
साइको-अन्कोलोजी भन्नाले क्यान्सर भएका बिरामी र तिनका परिवारमा देखिने मानसिक, सामाजिक र भावनात्मक समस्याहरूको पहिचान र व्यवस्थापन गर्ने विधा हो।
क्यान्सर लागेको समाचार पाउने बित्तिकै बिरामीले आफैलाई टुक्रिएको महसुस गर्छ र जीवन अब अगाडि बढाउन नसक्ने र मृत्यु मुखमै आएको ठान्छ। मनमा अनेकौं डर, चिन्ता, लाज र भविष्यप्रतिको अनिश्चितता बस्न थाल्छ र केही महिनापछि बिरामीको शरीर उपचारले सुध्रिए पनि उसको आत्मविश्वास, समाजमा उपस्थिति र भावनात्मक शक्ति भने अझै कमजोर नै रहन्छ।
केही उदाहरणहरू केलाउँदा सर्लाहीकी ३८ वर्षीया दुर्गा (नाम परिवर्तन) जो दुई सन्तानकी आमा, एक जिम्मेवार गृहिणी एउटा सामान्य परीक्षणको क्रममा बायाँ स्तनमा गाँठो देखियो, जुन बायोप्सीपछि क्यान्सर भएको पुष्टि भयो। परिवारले तुरून्तै उपचार सुरू गर्यो, सर्जरी भयो, स्तन निकालियो र किमोथेरापी पनि सुरू गरियो। शारीरिक रूपमा उहाँ उपचारतिर जान थाल्नु भयो, तर मानसिक रूपमा दिन-प्रतिदिन झनझन् चुपचाप, उदास, र डराइ रहनुहुन्थ्यो। कपाल झरेपछि ऐनामा आफ्नो अनुहार हेर्नै छाड्नु भयो। श्रीमानसँग कुराकानी गर्न छाड्नु भयो। विस्तारै रातभरि निद्रा नलाग्ने, बेला बेलामा रूने, खाना नखाने, बच्चाहरूलाई छुन मन नलाग्ने, चिटचिडाहट महसुस गर्ने, झर्किने र अन्ततः 'मर्न मन लाग्ने' भन्ने अवस्था आइपुग्यो।
यो मानसिक अवस्था ‘स्तन क्यान्सरको कारण उत्पन्न भएको डिप्रेसन’ को उदाहरण हो।
परिवारले मनोचिकित्सकसँग परामर्श गरेपछि उहाँलाई काउन्सिलिङ थेरापी र औषधि दुवै दिइयो। केही हप्ताभित्रै उहाँको निद्रा फर्कियो, आत्मविश्वास बढ्यो र उपचारप्रति सकारात्मक भावना पलायो।
यस्तै, काठमाडौंका २४ वर्षीय रविन (नाम परिवर्तन) ले युवा उमेरमै ल्युकेमिया (ब्लड क्यान्सर) भएको खबरले उनलाई संसार नै भताभुङ्ग भएको अनुभव भयो।
केही महिनाको उपचारपछि शरीर निको हुँदै गयो तर मनमा भने ‘अब मेरो जिन्दगी सकियो’, ‘अरूले बिहे गर्न चाहँदैनन्’, ‘म समाजको बोझ हुँ’ भन्ने भावना बलियो बन्दै गयो।
रविन अस्पताल जानै चाहँदैनथे, साथीहरूसँग भेट्न डराउँथे, मोबाइल पनि चलाउँदैनथे। एक दिन आमाले उहाँलाई कोठाभित्र झुण्डिन खोजेको अवस्थामा देखिन्। त्यो घटनापछि तुरून्त मनोचिकित्सकसँग परामर्श गरियो। मानसिक स्वास्थ्य सम्बन्धी जानकारी, परामर्श र औषधिको प्रयोगले रविनको आत्महत्या गर्ने सोच कम हुँदै गयो। नियमित साइकोथेरापी, औषधि र पारिवारिक परामर्शपछि अहिले उनी आफ्नो दैनिक जीवनमा फर्किएका छन्। फेरि पढ्न थालेका छन्, आत्मबल बढेको छ, र जीवनलाई फेरि एकचोटि अर्थपूर्ण र सफलता उन्मुख बनाउन लागिपरेका छन्।
यी दुई उदाहरणहरूले के देखाउँछन् भने क्यान्सर लागिसकेपछिको उपचार केवल शरीरलाई मात्र होइन, मनलाई पनि आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर भएका प्रत्येक १० जनामध्ये झन्डै ४ जनामा गम्भीर प्रकारका मनोवैज्ञानिक असरहरू देखिन्छन्। अझ चिन्ताजनक कुरा त यो हो कि तीमध्ये धेरैले कुनै पनि मनोवैज्ञानिक सहयोग पाउँदैनन्। कतिपयलाई त यस्तो असर मृत्युको भन्दा पनि अगाडि मौन पीडाको रूपमा सताइरहेको हुन्छ।
विश्वका ख्याति प्राप्त क्यान्सर उपचार केन्द्रहरू जस्तै अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर, बेलायतको रोयल मार्स्डेन, भारतको टाटा मेमोरियल अस्पताल लगायतका संस्थाहरूमा साइको-अन्कोलोजी विभाग स्थापना गरी बिरामीको उपचार यात्रालाई समग्र रूपमा हेर्ने अभ्यास गर्दै आएको पाइन्छ। त्यहाँ बिरामीको उपचार सुरू गर्नुअघि नै मनोवैज्ञानिक मूल्यांकन गरिन्छ र आवश्यक परेमा साइकोलोजिकल सपोर्ट सुरू गरिन्छ, र परिवारलाई समेत परामर्श दिने चलन छ।
नेपालको सन्दर्भमा, यो विषय अझै सुरूआती चरणमै छ। केही अस्पतालहरूले मनोवैज्ञानिक परामर्श सुरू गरेका छन्, तर त्यो मनोचिकित्सक र मनोपरामर्शविद् बिनै चलिरहेको छ। बिरामी र बिरामीको परिवार र आफन्तमा साइको-अन्कोलोजीको विधाको बारेमा जानकारीको कमी छ। त्यसमाथि, समाजमा मानसिक स्वास्थ्यप्रति रहेको पूर्वाग्रही सोचले र हीन भावनाले बिरामीहरूले यो सेवा लिन झन् कठिन अनुभव गर्छन्।
अबका दिनहरूमा हामीले क्यान्सरको उपचारलाई केवल शरीरसम्म सीमित नराखी बिरामीको सर्वपक्षीय कुरालाई ध्यानमा राखी बहुबिधा परामर्श विधि प्रयोग गर्दै मनलाई सुन्ने, बुझ्ने र उपचार गर्ने परिपाटी सुरू गर्नुपर्ने छ। सरकार, अस्पताल, स्वास्थ्यकर्मी र परिवार सबै मिलेर मनोवैज्ञानिक पक्षलाई पनि क्यान्सर रोग उपचारको एक महत्त्वपूर्ण अङ्ग बनाउनु पर्ने आजको आवश्यकता छ।
क्यान्सर बिरामीको आँखा भित्रको मौन पीडा बुझ्न सक्नु, त्यसलाई शब्द दिन सक्नु र फेरि उसलाई जीवनप्रति आस्था जगाउन सक्नु नै साइको-अन्कोलोजीको मूल आत्मा हो। हामीले शरीर निको पार्न सक्छौं, तर मन पनि त उस्तै संवेदनशील हुन्छ, जुन बिस्तारै, स्नेहपूर्वक र गहिरो बुझाइबाट मात्र निको हुन्छ।